३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदै


१० आश्विन २०७८, आइतबार


विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आज (आइतबार) बाट अन्तिम बहस हुँदै छ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो ।

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा शाक्यको मृत्यु भएको थियो । हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेको थियो ।

करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चार वटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

दुई पटक पूरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

सुन तस्करी मुद्दाका ७७ प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैँ हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस