जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक शुरु


७ आश्विन २०७८, बिहिबार


काठमाडौं । नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक आज (बिहीबार) देखि जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो ।

आज (बिहिबार) देखि सुरु भएको उक्त बैठकको उद्घाटन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

बैठकमा सम्बोधन गर्दै देउवाले नेपाली सेनाको रणनीति तहमा सञ्चालन हुने यस किसिमको छलफलले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बन्धित विषयहरुमा साझा धारणा निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै, चुनौति सामना गर्न समय सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न पनि बैठकले भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताए ।

बैठकमा सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु पनि आफ्नो जिम्मेवारी क्षेत्रका परिस्थितिबारे विश्लेषण सुनाउनेछन् । यसअघि पृतनापतिहरुको सम्मेलन हुने गरेको थियो । नयाँ संरचनामा सेनाको पृतनाहरु खारेज भएका छन् ।

आज शुरु भएको उक्त बैठक शुक्रबार सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस