मुख्य राजमार्गमा सिसिटिभी जडान पूरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुख्य राजमार्गमा सिसिटिभी जडान पूरा


४ आश्विन २०७८, सोमबार


सुदूरपश्चिम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली, कञ्चनपुर सडकखण्डका मुख्य भागमा सिसिटिभी जडान पूरा भई सञ्चालनमा आएको छ ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु एक करोड ७१ लाख ३१ हजार लागतमा विभिन्न ठाउँमा १३८ थान सिसिटिभी जडान पूरा भएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले हिजो (आइतबार) अत्तरियामा आयोजित कार्यक्रममा जडान भएका सिसिटिभी प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरे । सो अवसरमा मन्त्री जोशीले सिसिटिभी सञ्चालनसँगै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कैलालीको पूर्वी सीमा चिसापानीबाट कञ्चनपुरको पश्चिमी सीमा गड्डाचौकीसम्म र अत्तरियाबाट धनगढीको त्रिनगरनाकासम्मका संवेदनशील ठाउँमा सिसिटिभी जडान भई सञ्चालनमा आएको हो । मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले दुवै जिल्लाको १०८ दशमलव पाँच किलोमिटर लामो सडकमा फाइबर तार बिछ्याएर सिसिटिभी जडान भई सञ्चालनमा आएको बताए । यी क्यामेरा जडानका लागि ९० वटा पोल (खम्बा) को प्रयोग गरिएको छ ।

यससँगै राजमार्ग क्षेत्र निगरानीमा आउँदा आपराधिक गतिविधि रोकथाम, अनुसन्धान, दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ । प्रहरीका गतिविधिलाई प्रविधितर्फ केन्द्रित गराउने नीति सरकारको छ । प्रदेश सरकारले यसअघि प्रहरीले प्रयोग गर्न मिल्ने गाडी, जिप, मोटरसाइकल प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले सिसिटिभी सञ्चालनसँगै शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण गर्नमा सहयोग पुग्ने बताए। उनले भने, ‘मुख्य सडक सिसिटिभीको निगरानीमा आउँदा दुर्घटना गराएर भाग्ने घटनामा कमी आउने छ ।’ विद्युत् आपूर्ति बन्द भएका बेला भने जडान भएका यी क्यामेरा चल्न नसक्ने बताइएको छ । कैलाली, कञ्चनपुरमा झ्याप्पझ्याप्प बत्ती जाने समस्या यथावत् छ ।

Tags :
प्रतिक्रिया दिनुहोस