‘एनआरएन निर्वाचन विवादरहित बनाउँछौँ’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

‘एनआरएन निर्वाचन विवादरहित बनाउँछौँ’


२ आश्विन २०७८, शनिबार


एनआरएनए

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ ।

एनआरएनले हिजो (शुक्रबार) जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको स्पष्ट पारेको छ ।

जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको उसले जानकारी दिएको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ ।

हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ । गैर आवासीय नेपाली सङ्घको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी व्यवस्था गरिएको छ ।

त्यसका लागि नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भैसकेको छ । प्राविधिकलगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरू (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रस्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट वञ्चित हुने अवस्था आउन सक्छ । यसतर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समितिले अनुरोध गरेको छ ।

गैर आवासीय नेपालीको अवस्था प्रस्ट देखिनका लागि भिसासहित ‘आइडि कार्ड’ पनि आवश्यक भएकाले यदि सदस्यता लिइसकेपछि पछाडि नवीकरण गरिएका भिसा तथा आइडि कार्ड उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डको पालना गर्दै आवश्यक सूचनाहरूका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस