१५ दिन भित्र इन्डोनेसियाबाट युरिया मल नेपाल आइपुग्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१५ दिन भित्र इन्डोनेसियाबाट युरिया मल नेपाल आइपुग्ने


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ। किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ ।

इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरिया मल नेपाल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

चीनबाट खरिद गरिएकाले डिएपी मल लोड भई सकेको जनाउँदै आउने असोज २० सम्ममा मल नेपाल आइपुग्ने उनले जानकारी दिए । किसानले धान लगायतका अन्य मुख्य बालीमा रासायनिक मल प्रयोग गर्ने समय अन्तिम भए पनि मल प्रयोग गर्न नपाएको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले गुनासो गरे ।

पर्याप्त मल खरिद गर्न नपाउँदा धान उत्पादनमा समेत असर पर्ने भन्दै किसानले यस अघि बाली हुर्किने समयमै तत्काल मल उपलब्ध गराउन पटक पटक माग गरेको उनको भनाई छ । यता कृषि सामाग्री कम्पनीले भने आफूहरुसँग हाल २४ सय टन युरिया, ३६० टन डिएपी र ११ सय टन पोटास मल मौज्दात रहेको र आफुहरुसँग किसानले माग नगरेको पोखरेलले बताए।

आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीले एक लाख ८२ हजार पाँच सय युरिया, एक लाख १४ हजार पाँच सय डिएपी र सात हजार पाँच सय मेट्रिक टन पोटास गरी जम्मा तीन लाख चार हजार पाँच सय मेट्रिक टन मल खरिद गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको उनले जानकारी दिए ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा युरिया एक लाख ४० हजार मेट्रिक टन , डिएपी ७० हजार, पोटास पाँच हजार गरी जम्मा दुई लाख १५ हजार मेट्रिक टन मात्र मल खरिद गरेको थियो । चालु वर्षमा भने मलको माग बढेसँगै थप मल खरिद गरिएको कम्पनीले जनाएको छ । हामी किसानलाई मलको समस्या हुन दिन्नौ, प्रवक्ता पोखरेलले भने ।

मल अभाव हुन नदिन भन्दै सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिएको छ । हाल ७० प्रतिशत कृषि सामाग्री र ३० प्रतिशत साल्ट ट्रेडिङले आपूर्ति गर्दै आएको कम्पनीले जनाएका छन् । धानबाली का लागि मल वितरण गरी सकेको र गहुँबालीका लागि युरिया र डिएपी मलको व्यवस्थापन गर्न इन्डोनेसियाबाट युरिया र चीनबाट डिएपी मल खरिद प्रक्रिया सुरु गरी सकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सातै प्रदेशबाट माग अनुसारको मल वितरण गर्न रासायनिक मल ढुवानीका लागि भदौ १६ गते सूचना जारी गरेको थियो । कम्पनीले विराटनगर, सोनापुर, वीरगन्ज, भैरहवा क्षेत्रका लागि गरी जम्मा ४३ हजार नौ सय मेट्रिक टन मल ढुवानी असोज १५ गतेभित्र व्यवस्थापन समेत टुङ्गो लगाउने जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट तीन वर्ष भित्र रासायनिक मलको कारखाना खोल्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस