चट्याङका कारण उत्तरी पाकिस्तानमा कम्तीमा १४ को मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चट्याङका कारण उत्तरी पाकिस्तानमा कम्तीमा १४ को मृत्यु


२८ भाद्र २०७८, सोमबार


पेशावर । पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले हिजो (आइतबार) बताएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पुर्‍याएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले एएफपीसँग भने, ‘चट्याङका कारण सँगै रहेका दाजुभाईका दुई वटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।’ मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका उनले पुष्टि गरे ।

सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिँचाइ गर्न र पानीको आपूर्ति पुरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एसियाली मुलुकमा ठुलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ ।

सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस