प्रदेश-२ सरकारले मास्क नलगाउने सेवाग्राहीलाई सरकारी सेवा नदिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश-२ सरकारले मास्क नलगाउने सेवाग्राहीलाई सरकारी सेवा नदिने


२७ भाद्र २०७८, आइतबार


जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सरकारी सेवा प्रवाह नगर्ने भएको छ ।

प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज (आइतबार) बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको बैठकले ठहर गरेको छ । सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन प्रसारण गराउने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस