पहिरोले एक सातादेखि कोसी राजमार्ग अवरुद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पहिरोले एक सातादेखि कोसी राजमार्ग अवरुद्ध


२५ भाद्र २०७८, शुक्रबार


किमाथाङ्का ।सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको छ ।

गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिरोका कारण सदरमुकाम खाँदबारीबाट गाउँपालिका जाने उत्तर–दक्षिण सडक खण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका र भोटखोला गाउँपालिका सिमाना मकालु–३ हाइटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हामीले पहिरो हटाउन मकालु–३ हाइटार नजिकै तीन वटा एक्स्काभेटर लगेका छौँ, तर पहिरो खस्ने क्रम नरोकी कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन ।’

सडक अवरुद्ध भएपछि भोटखोलासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको हेदाङनागढीसम्म चलिरहेको उनले बताए ।

सडक खण्ड अवरुद्ध भएपछि मकालुका केही वडा र भोटखोलामा यातायात सेवा बन्द भएको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट भोटखोलाको हटिया पुगेको आधा दर्जन सवारी र खाद्यान्न बोकेर गएका ट्र्याक्टर हटियामै रोकिएका स्थानीयवासीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस