बागलुङमा काँग्रेस महाधिवेशनको कार्यतालिका मिचियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागलुङमा काँग्रेस महाधिवेशनको कार्यतालिका मिचियो


१७ भाद्र २०७८, बिहिबार


बागलुङ । पार्टी केन्द्रले तोकेको कार्यतालिका अनुसार शुक्रबार नेपाली काँग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केही दिन पछिलाई धकेलिएको छ ।

यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उनको भनाइ छ । क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको तयारी नपुग्ने देखिएपछि मिति सारिएको हो ।

‘मतदान अधिकृत तोक्ने, अभिमुखीकरण गर्ने लगायतका काम गर्न समय अपुग हुने भएपछि वडा अधिवेशन सार्नुपरेको हो’, सभापति थापाले भने। अधिकांश जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक भइसक्दा तीन दिनपछि मात्र यहाँको सूची आएको थियो । वडादेखि केन्द्रसम्मको नेतृत्व छान्ने गरी हुन लागेको महाधिवेशनले काँग्रेस वृत्त गर्माएको छ । नेताहरु कार्यकर्ताको मत लिएर नेतृत्वमा पुग्ने दाउमा छन् । कार्यकर्ता सबल नेता चुनिनुपर्ने बताइरहेका छन् ।

वडा तहका अधिवेशनमा भरसक सहमतिबाटै नेतृत्व छनोटको पहल हुने जिल्ला सभापति थापाले बताए। ‘सहमति हुन नसक्दा त लोकतान्त्रिक विधि छँदै छ, त्यही अनुसार हुन्छ’, उनले भने । वडाबाट निर्वाचित हुने प्रतिनिधिले स्थानीय तह, प्रदेश/सङ्घ निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।

वडा अधिवेशनपछि यही भदौ २७ गते गाउँ/नगर, प्रदेश निर्वाचन क्षेत्रको असोज १ गते, सङ्घीय निर्वाचन क्षेत्रको ५ गते, जिल्ला अधिवेशन १० गते, प्रदेशको कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस