मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आइपुग्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आइपुग्यो


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । मलेसियाबाट शनिबार एकै दिन २४ जना नेपालीको शव र अस्थु नेपाल आइपुगेको छ ।

वायुसेवा निगमको वाइडबडी विमानले रोजगारीको सिलसिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल लेराएको हो ।

वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौ वटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव सङ्कलन गरी एकै पटक ल्याइएको पनि बोर्डले जनाएको छ ।

९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्थु भने सम्बन्धित मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने पनि बोर्डले जनाएको छ । झन्डै दुई दशक यता देशको आर्थिक मेरुदण्डको रुपमा रेमिट्यान्स रहँदै आएको छ ।

तर विदेशमा कमाउन गएकाहरु भने शवको रुपमा फर्कने क्रम पनि बढ्दो छ । औसत दिनमा ३ वटा शव विदेशबाट आउने गरेको तथ्याङ्क वैदेशिक रोजगार बोर्डसँग रहेको छ ।

बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ हजार २४२ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यस्तो सङ्ख्या अघिल्लो वर्ष ६७४ जना मात्रै थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस