नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचरण विपरीत काम गरेको भन्दै चर्को आलोचना भई रहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो।

नियमक निकाय आफैँले पदीय मर्यादाविपरित सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ। उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’

बैठकले सेयर बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शिता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जबाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। बैठकमा समितिका सदस्यहरुले पुँजी बजारको नियमक निकायलाई स्वच्छ, जबाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस