भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी १२ नबज्दै बाहिरिन्छन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी १२ नबज्दै बाहिरिन्छन्


१ भाद्र २०७८, मंगलबार


चितवन । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काए । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काए ।

अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन् । यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ । बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन । भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन् । चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ । यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ ।

अस्पतालका चिकित्सकहरु भने बिहान १० बजेपछि आउने र बीचमै विभिन्न बहानमा हिड्ने गरेको सेवाग्राहीको गुनासो छ । गत दुई वर्षयता अस्पतालमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन् । २०७७ साल भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएपछि डा राजन पाण्डे आए । उनको तीन महिनाको बसाइपछि डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए ।

सोही वर्षको फागुन ५ गते आउनुभएका डा वासुदेव पाण्डेको अधिकांश समय काठमाडौँमै बित्यो । उनी दु्ई महिनामै सेवानिवृत्त भए । पुनः डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए । यसै वर्षको जेठ १३ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा रोशन न्यौपाने भए । यद्यपि सधैँजसो काठमाडौँ बस्ने भएकाले निमित्तको जिम्मेवारी डा तिवारीले नै सम्हाल्दै आएका छन् ।

अस्पताल विकास समितिको अध्यक्षमा डा भोजराज अधिकारी नियुक्त भएपछि ६ मेडिकल सुपरिटेन्डेन्ट बनिसकेका छन् । दुई वर्षका अवधिमा मेसु परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको अध्यक्ष डा अधिकारी बताउछन् । विकास समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने मेसु नै परिवर्तन भइरहँदा काम गर्न कठिन भएको उनको गुनासो छ ।

अस्पतालमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले तोकिएको निर्धारित समयभित्र काम गर्नुपर्ने जनाउँदै उनले सेवा प्रदायक र सेवाग्राही दुवैको हित हुने गरी विकास समितिले काम गरिरहेको बताए । चिकित्सक स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सेवासुविधा दिन समिति तयार रहेको जनाउँदै उनले तोकिएको समयमा भने काम गर्नुपर्ने बताए । उनले भने, ‘कोही पनि बिरामी उपचार नपाएर फर्किनु हुँदैन ।’

केही वर्षअघि तत्कालीन प्रजिअ विनोदप्रकाश सिंहले अस्पतालमा छड्के निरीक्षण गरेर निर्धारित समयमा काम गर्नेहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएका थिए । यसैबेला अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि सुधार गरिएको थियो ।

सेवाग्राहीहरुले अस्तव्यस्त बनेको अस्पताललाई सुधारका लागि स्थानीय प्रशासनले ध्यान दिनुपर्ने जनाउँदै आएका छन् ।

प्रजिअ प्रेमलाल लामिछाने सरकारले तोकेअनुसारको सेवा दिनुपर्ने बताउछन् । गुनासो आएमा आफूले तत्काल सम्बोधन गर्ने गरेको उनको भनाइ छ । अस्पतालमा विभिन्न विभाग भए पनि ती विभागले काम नगरेको गुनासो छ । विकास समिति र निजामती कर्मचारीबीचमा द्वन्द्व, वरिष्ठ चिकित्सकहरुको विकास समितिमा अधिकृतको मात्रै दरबन्दी, विशेषज्ञ चिकित्सकले बिरामी नहेर्ने गरेको, स्वास्थ्यकर्मीहरुको राजनीतिक खिचातानी र लडाइँ लगायतका कारण अस्पताल अस्तव्यस्त बनेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन् ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले चितवनसहित १९ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा आएका बिरामीलाई निजीमा रिफर गर्ने समस्याका कारण सेवाग्राही प्रभावित हुने गरेका छन् । निमित्त मेडिकल सुपरिटेन्डन्ट डा तिवारी स्थायी मेसु नहुँदा पनि समस्या हुने गरेको बताउछन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सङ्घीय अस्पताल भएकाले अस्पताललाई आवश्यक स्रोतसाधन व्यवस्था सङ्घीय सरकारले गर्नुपर्ने बताउछन् । राजनीतिक खिचातानीका कारण मेसु मन्त्रीसँगै परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको भन्दै उनले कम्तीमा दुई वर्ष काम गर्ने गरी मेसु पठाउन सकेमा अस्पतालले गति लिने बताए ।

काठमाडौँपछिको ठूलो र धेरै बिरामीलाई सेवा दिनुपर्ने यस अस्पताललाई राम्रो बनाउन महानगर सधैँ लागिपरेको भन्दै उनले सेवाग्राहीको गुनासो नरहने गरी काम गर्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस