भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो


२९ श्रावण २०७८, शुक्रबार


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ ।

सक्रिय सङ्क्रमितहरूको यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय ९५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक रुपमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या कम हुँदै गएको हो ।

अहिले भारतमा कुल सङ्क्रमितमध्ये १.२ प्रतिशत सङ्क्रमितहरू मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार एक सय २० जना नयाँ सङ्क्रमितहरू थपिएका हुन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट तीन करोड २१ लाख १७ हजार आठ सय २६ जना सङ्क्रमित भएको पाइएको छ । तीमध्ये चार लाख ३० हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये पाँच सय ८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार नौ सय ५६ मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार पाँच सय ७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस