काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको बैठकले गृह सचिवलगायत केही सचिवहरू परिवर्तन गर्दै छ ।
नयाँ सरकार बनेको लामो समय भइसक्दासमेत मन्त्रिमण्डल बिस्तार हुन नसकेपछि यसअघि नै भई सक्नु पर्ने सचिवको सरुवासमेत रोकिएको छ । अवधि पुगिसकेका सचिवहरूको सरुवा गर्ने, अवकाशमा गएका सचिवको ठाउँमा नयाँ सचिव पठाउने तथा अतिरिक्तमा रहेका नवनियुक्त सचिवहरूको पदस्थापन हुन नसक्दा प्रशासनिक कामकारबाहीमा असर पर्दै आएको थियो ।
सम्बन्धित समाचार : राजनीतिक अनिर्णयको प्रभाव प्रशासनमा : सचिव थन्क्याएर मन्त्रालय खाली !
सत्ता गठबन्धनको भागबन्डालगायत राजनीतिक विषयमा निष्कर्षमा पुग्न नसक्दा रोकिएको मन्त्रिमण्डल विस्तार कहिले हुने भन्ने टुङ्गो नलाग्ने जस्तो देखिएपछि गृहलगायत केही मन्त्रालयका सचिवहरूको व्यवस्थापन गरिन लागेको गृह उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ । आजको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहका रहेका पाँच सचिवहरूको पदस्थापन र सो व्यवस्थापन गर्दा अन्य मन्त्रालयकासमेत सचिवहरूको सरुवा हुन सक्ने ती स्रोतको दाबी छ ।
सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण मानिने अर्थ, गृह तथा सञ्चार मन्त्रालयमा जान सचिव र राजनीतिक दलहरूबिच नै रस्साकस्सी चलेपछि महत्त्वपूर्ण मन्त्रालयमा एक एक जना गरी व्यवस्थापन गर्ने रणनीति सरकारले लिएको देखिन्छ । केही समय अघि मात्रै अर्थ मन्त्रालयमा मधु कुमार मरासिनी आई सकेको छन् भने आज गृह सचिव फेरिँदै छन् ।