मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल गठन


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरको ६५ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ । कामपाको आज बसेको ६५औँ कार्यपालिका बैठकले उक्त कार्यदल गठन गरेको हो ।

उक्त समितिका सदस्यमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक धनपति सापकोटा छन् । समितिलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसहितका सरोकारवाला निकायसँग छलफल गरेर सुझाव दिन सात दिनको समय दिइएको छ ।

खुल्ला मञ्चबाट बसपार्क हटाएर गत वैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एण्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न भनेको थियो । महानगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दूरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत यातायात सञ्चालन गर्न माग हुँदै आएको थियो ।

उक्त स्थानमा फेरी यातायात फर्काउन नसकिने भएपछि मध्यम दुरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको बताइएको छ । बैठकमा कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले ठूला २३ करदाताको नाम सार्वजनिक भएको र सम्पर्कमा नआए शिलबन्दीको तयारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस