काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो ।

जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले प्रविधिमार्फत सडक व्यवस्थापनका लागि सडक बत्तीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको छ,’ उनले भने ।

काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष श्रेष्ठले ट्राफिक बत्तीको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कुमारी बैंकका अधिकृत खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती जडान कार्यलाई सहयोग गरिएको बताए । आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उनले बताए ।

महाशाखाले हालसम्म उपत्यकाका ३४ चोकमा ट्राफिक बत्तीमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा अन्य चोकमा ट्राफिक बत्ती जडानको लागि समन्वय गर्ने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस