मित्रता मन्थन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मित्रता मन्थन


१५ श्रावण २०७८, शुक्रबार


यो जगतमा सबै कुराको सुसङ्गत तारतम्य मिलाउन अत्यन्तै कठिन छ । जब कोही मित्र हुँदैन, नरमाइलो लाग्छ । जब कोही मित्र बन्दछ, बिछोड सुनिश्चित छ । -अब्राहम लिङ्कन

मेरो अगाडि नलाग म पिछा गर्ने छैन । मेरो पछाडि नलाग म नेतृत्व गर्ने छैन । मित्र बन्नु छ भने मेरो बगलमा आऊ र सँगसँगै हिँड । -अल्बर्ट कामु

मित्र सानो ठुलो हुँदैन । तुलनामा मित्रता फाप्दैन । मित्र बनाएर बन्ने कुरा पनि होइन । सच्चा मित्र संयोगले भेटिन्छ । स्वार्थ प्रेरित र नियोजित मित्रतामा जुन दिन स्वार्थ सिद्ध हुन्छ, त्यही दिन मैत्रीको समाप्ति हुन्छ । मित्रलाई आफू जस्तो या अरू कोही जस्तो बनाउन प्रयत्न गर्नु साँचो मित्रता होइन । जो जस्तो छ, त्यसैलाई स्वीकार गर्नुमा मात्र मित्रता फलिभूत हुन्छ । मित्रता छुट्नु स्वाभाविक हो, टुट्नु दुर्भाग्य ।

तीन दृष्टान्त :
महेन्द्र र बिपी – बिपी र महेन्द्र एकान्तमा जीवनका सुख दुःखबारे अन्तरङ्ग कुरा गर्थे । आपसमा सुन्दर कविता वाचन गरेर सुनाउँथे । पत्नी इन्द्र राज्य लक्ष्मीको देहावसान भई युवावस्थामै विधुर भएका विरही युवराजको विवाहबारे बाबुछोराबिच मनमुटाब हुँदा बिपीले नै मामिला सुल्झाएका थिए । महेन्द्र भन्दथे, “तपाईँ मसँगै बस्नुपर्छ, मेरो पाहुना भएर ।” बिपी भन्दथे, “मलाई पनि सरकारसँग बस्न मन लागेको छ ।” महारानी रत्नबारे बिपी भन्छन् , “तिनी कुनै ठस्सावाला होइनन् ।”

राजाले आफ्नो बाल जीवनको दुःख याद गर्दै भनेका थिए, “मेरो बाल्यकाल त बडो एक्लो बितेको हो । मेरो कोही मित्र थिएन ।” त्यो मित्रता संयोग थिएन । त्यो राजकाजी सम्बन्धको क्रममा गाँसिएको मित्रता थियो । बिपीले भनेका छन्, “उनलाई म एकदमै टेर्दिन भन्ने पर्‍यो होला । उनलाई मेरो अलिकति अन्तर्राष्ट्रिय मान्यता बढेको र बलियो हुन लागेकोबाट पनि डर हुँदो हो ।”


त्यस्तो मैत्री हुँदा पनि बिपीले साहसपूर्वक भनेका थिए, “सरकार प्रजातन्त्रवादी होइन ।”

मित्रताभित्र एउटा दर्द थियो । एउटा विद्वेष जसले राजा र नागरिकलाई अलग राख्ने प्रयत्न गर्दथ्यो । सत्ता र शक्तिले लयस भएका दुइटा सिंह कति दिन एउटै ओडारमा भलाकुसारी गरेर बस्नु । सत्ता, शक्ति र प्रतिष्ठाको ईर्ष्याले आफू समानको मित्रलाई त टाढा पुर्‍याउँछ भने त्यो त राजा र नागरिकबिचको मामिला थियो । अन्त्यमा जोसँग सैन्य शक्ति थियो , उसैले अर्कोलाई ठेगान लगायो । औचित्य र अनौचित्यको लक्ष्मण रेखा मेटियो । बिपी भन्छन् , “राजा र मेरो सम्बन्ध प्रेम र द्वेषको थियो ।”


द्रोण र द्रुपद – पाञ्चाल राजकुमार द्रुपद र द्रोण एउटै गुरुकुलका शिक्षार्थी थिए । उनीहरूबिचको मित्रता अत्यन्तै स्नेहपूर्ण थियो । उनीहरू जे प्राप्त हुन्थ्यो सो बाँडेर खान्थे, साथै खेल्थे, साथै सुत्दथे । एक दिन कुरै कुरामा राजकुमार द्रुपदले भनेका थिए, “म राजा भएपछि मेरो आधा राज्य तिमीलाई दिनेछु ।” समय क्रममा बचपनमा भनेका वचनहरू द्रुपदले त बिर्से तर गरिबीमा दिन गुजारेका द्रोणले बिर्सन सकेनन् । पढाइ सकिएपछि राजकुमार आफ्नो राजधानी फर्केर राजा भए । द्रोण भने कामको खोजीमा भौँतारिन थाले ।

रोजगारीको अभावमा विह्वल भएका द्रोण एक दिन घुम्दै फिर्दै द्रुपदलाई भेट्न गए । उनमा आधा राज्यको चाहना त थिएन, किन्तु पाञ्चाल दरबारमा आफू योग्य काम पाउने आशा थियो । जब उनले पाञ्चाल राजसभामा राजालाई “मित्र” शब्दले संशोधन गरे, राजालाई साह्रै अपमानित भएको महसुस भयो । उनले भिखारी कसरी एउटा राजाको मित्र हुनसक्छ भनेर प्रतिप्रश्न गरे । अपमानित भएका द्रोण एक दिन बराबरको हैसियत हासिल गरेरै छाड्ने प्रतिज्ञा गरेर फर्के ।

मित्र संयोगले बनिएको थियो तर अपमान नियोजित । द्रोणले सय भाइ कौरव र पाँच भाइ पाण्डवको गुरु हुने अवसर प्राप्त गरे । शिक्षा समाप्त भई दीक्षान्तको समयमा उनले अर्जुनसँग गुरु दक्षिणा माग्दै भने, “राजा द्रुपदलाई जीवितै बन्दी बनाएर मेरो सामुन्ने उपस्थित गराऊ ।” अर्जुनले राजा द्रुपदलाई बाँधेर गुरुका सामु उपस्थित गराए । असमानबिचको मित्रता र अहङ्कारीसँगको सम्बन्ध कति दर्दनाक हुन्छ भन्ने यो एक उदाहरण मात्र हो । यस्तो अवस्था धेरैको जीवनमा आउँछ, तर सबै द्रोण जस्ता योग्य हुँदैनन् र योग्य नै भए तापनि अर्जुन जस्तो सहयोगी फेला पार्नु दुर्लभ छ ।

कृष्ण र सुदामा – सुदामा कृष्णका बाल सखा थिए । एउटै गुरुका शिष्य उनीहरू अत्यन्तै मिल्ने मित्र थिए । संयोगले गाँसिएको मित्रता साह्रै नै प्रगाढ र श्रद्धामा परिणत भयो । पढाइ सकिएपछि कृष्ण अनेकौँ झन्झट र दुःख पार गरेर द्वारकामा समृद्ध र भव्य जीवन बिताउन थाले । परन्तु सुदामा चरम गरिबी र अभावले ग्रस्त थिए ।

एक दिन सुदामाकी पत्नीले भनिन्, “तिम्रा बाल सखा कृष्ण निकै वैभवशाली द्वारकाधीश भएर सुखभोग गर्दै छन् रे । उनको द्वारमा जो हात फैलाउन जान्छ उसको झोली अवश्य भरिन्छ । कृष्ण तिम्रा अनन्य मित्र हुन् । जाऊ ! कृष्णले अवश्यमेव तिम्रो करुण पुकार सुन्नेछन् ।” सुदामाले सोचे, दुःख पुकारा गरेर दयाको भिख त कसरी माग्नु तर मित्रलाई भेट्नुका साथै उनको वैभव र सौभाग्य देखेर आउनु त उचित नै हो । उनले पत्नीसँग भने “मित्रलाई भेट्न जाँदा खाली हात जानु उचित हुँदैन । पाहुर लिएर जाने लायक कुनै वस्तु हाम्रो घरमा छैन ।” पत्नी सुशीलाले छिमेकबाट चार मुठी कनिका मागेर ल्याई पोको पारेर यही कनिका पाहुर लिएर जाऊ भनेर सुदामालाई बिदा गरिन् ।

फाटेका लुगा पहिरेका अत्यन्त दुर्बल र मलिन सुदामालाई कृष्णले भव्य र आत्मीय स्वागत गरे । पुरानो मित्रलाई यसरी अकस्मात् भेट्न पाउँदा कृष्ण हर्ष विभोर भए । दुवै मित्रहरू आफ्नो विद्यार्थी जीवनका अनेक घटनाबारे चर्चा गर्दै प्रफुल्ल भए । कृष्णले मित्रलाई अति नै स्नेहपूर्वक सोधे, “मित्र तिमीले मेरो लगी के उपहार ल्याएका छौ ?” यो सुनेर सुदामा लज्जित भए । त्यस्तो वैभवशाली मित्रलाई चार मुठी कनिका कसरी दिनू ? तर कृष्णले कनिकाको पोको तानेर अपूर्व प्रेमले गद गद हुँदै खान थाले । उनले सुदामातर्फ हेर्दै भने, “प्यारो मित्र ! तिमीले प्रेमसाथ ल्याएको यो कनिका मलाई मात्र होइन, सारा संसारलाई तृप्त गराउन पर्याप्त छ ।”

द्रुपदमा धन र शक्तिको अहङ्कार थियो । उनी सत्ता र शक्तिको मदले उन्मत्त भएका थिए । परन्तु कृष्ण त्यो शक्ति, सत्ता र सम्पदा एक दिन नाश भएर जाने कुरा हुन् भन्ने कुरामा होसियार थिए । उनले मित्रतामा समानता खोजेनन्, पदीय मर्यादा खोजेनन्, आफ्नो ऐश्वर्यको दम्भ देखाएनन् ।

कृष्ण र सुदामाको सम्बन्ध मित्रताको शाश्वत पवित्रताको अनुपम उदाहरण हो । मित्र टाढा हुनसक्छ, भेट हुने मौका नमिल्न सक्छ, मित्र बिच आर्थिक र भौतिक हैसियत समान नहुन सक्छ तर मित्रता नित्य र सनातन हुन्छ भन्ने मिसाल हो त्यो ।

बालबालिका र मित्रता :
के बाबुआमा आफ्ना ससाना सन्तानका मित्र हुन सक्दछन् ? ब्रिटिस शिक्षाविद् र साहित्यकार बर्ट्रन्ड रस्सलले आफ्नो अमर कृति “अन एजुकेसन” मा बालबालिकाका लागि भयको नभई मैत्रीको वातावरण कायम गर्नुपर्ने कुरा बताएका छन् । आमाबाबुले आफ्नो व्यक्तित्वको एकोहोरो प्रभावद्वारा सन्तानलाई बौद्धिक दास बनाउनु हुँदैन । आमाबाबुलाई लाग्दछ, मीठो खाना, सुन्दर नाना र बलियो छाना दिन सकियो भने सन्तान बडो खुसी हुन्छन् । किन्तु यो भ्रम मात्र हो ।

बालबालिका त सँगै खेल्दा, कुरा गर्दा, घुम्न जाँदा र कहानी सुनाउँदा ज्यादा प्रसन्न हुन्छन् । आजको कठोर शिक्षा पद्धति र प्रतिस्पर्धाले बालबालिकाको खुसी खोसेको छ । बालबालिका मैत्री, वात्सल्य र साख्यभावको अभावमा पीडित बनेका छन् । सानो परिवार, पढाइको अनुचित बोझ, आधुनिक प्रविधिको अति उपयोग र आमाबाबुको विशाल अपेक्षाले गर्दा बालबालिका र किशोरकिशोरीहरु परिवारप्रति अमैत्रीपूर्ण हुँदै जाने सम्भावना बढ्दै गएको छ ।

मित्रताको प्रयोजन :
सबैभन्दा सुखद जीवन पारिवारिक मित्रताको जगमा उभिएको हुन्छ । परिवारभित्रको मित्रता सुखी जीवनको गन्तव्य हो । परिवारभन्दा बाहिरको मित्रता यात्रा मात्र हो गन्तव्य होइन । परिवारभित्रको मैत्री संयोग नभई कर्तव्य हो । पारिवारिक मैत्री सुनियोजित हुन्छ र हुनुपर्दछ किन्तु बाहिरी मित्रता कहिल्यै पनि सुनियोजित हुँदैन ।

पारिवारिक मैत्रीमा एक आपसमा आशा, अपेक्षा, दया, करुणा र कृतज्ञताको अपेक्षा हुन्छ । संयोगले प्राप्त भएको मित्रतामा आशा र अपेक्षा हुँदैन । सधैँ एउटै कक्षामा पढ्ने साथीसँग औपचारिक सम्बन्ध मात्र हुनु र अर्कै कलेजमा पढ्ने व्यक्तिसँग प्रगाढ र प्रेमपूर्ण मैत्री कायम हुनु संयोग हो ।

दिनभरि सँगै एउटै पक्षमा बहस गरेको वकिल काम सकेपछि साथी वकिलतर्फ मुखातिब हुँदै भन्दछ, “आज मलाई हतार छ । म मेरो मित्रलाई भेट्न जाँदै छु ।” जुन मित्रमा मनोरञ्जन, सहयोग र सद्गुण रहेको महसुस हुन्छ त्यसैको खोजी हुन्छ । सच्चा मित्र एक सुबासित गुलाफको फूल हो । सुवास दियो, आफै ओइलाएर गयो । मित्रता कागजको फूल होइन जो बिना सुवास र बिना प्रयोजन सजाउन र देखाउन मात्र काम लागोस् ।

मित्रतामा लेनदेन हुँदैन । सच्चा मित्रताले औकातको परीक्षा गर्दैन । सुमधुर मित्रतालाई कुनै सङ्गीतको आवश्यकता पर्दैन आफै सङ्गीतमय हुन्छ । मित्रता यस्तो होस् जसले प्रत्येक छोटो भेटलाई अविस्मरणीय बनाउन सकोस् । आजको जमानामा कहिल्यै भेट नभएको र भेट हुने सम्भावना नरहेका व्यक्तिबिच समेत अगाध र स्नेहयुक्त मैत्री कायम हुनसक्छ । धेरै भेट गरिरहँदा मित्रता गहन हुन्छ भन्ने सोच भ्रान्त धारणा हो । धेरै भेटघाटले मित्रप्रतिको जिज्ञासा समाप्त हुन्छ । मित्रबारे धेरै तथ्यहरू थाहा पाउन खोज्नु राम्रो होइन । तथ्यहरू प्राय: भ्रामक हुन्छन् ।

मित्रबिनाको जीवन निरस र सुक्खा हुन्छ । मित्रबिना जीवन चल्दैन तर मित्रको भरमा मात्र पनि जीवन चल्दैन । मित्रलाई हाँसो मात्र होइन, आँसु पनि देखाउनुपर्छ । मित्रको छातीमा टाउको राखेर धुरुधुरु रुन पनि पछि पर्नु हुँदैन । परन्तु मित्रताको भावुकतामा पोखिनुअघि यो अरबी लोकोक्तिको सम्झना गर्नु जरुरी छ “त्यस्तो गोप्य कुरा मित्रलाई पनि नभन जुन तिमी शत्रुबाट लुकाउन चाहन्छौ ।” मित्रता शाश्वत हुँदैन , कारणवश भङ्ग हुनसक्छ ।

उत्कृष्ट मित्र ( वेस्ट फ्रेण्ड ) :
पौराणिक दम्पती महादेव र सतीदेवी उत्कृष्ट मित्र थिए तर राम र सीताको सम्बन्ध कमसेकम लोकको नजरमा उत्कृष्ट हुन सकेन । कृष्णका असङ्ख्य पत्नी थिए, तर उत्कृष्ट पत्नी रुक्मिणी र उत्कृष्ट महिला मित्र द्रौपदी थिइन् । कृष्ण र अर्जुन उत्कृष्ट मित्र थिए । जब कृष्णको कृपाबाट महाभारत युद्धमा विजय प्राप्त भयो, अर्जुनले कृष्णलाई भाग्य विधाता मान्न थाले ।

मित्रताभित्रको समभाव समाप्त भयो । पाँच पाण्डवमध्ये अर्जुनलाई धेरै माया गरे पनि द्रौपदी कृष्णलाई आफ्नो उत्कृष्ट मित्र मान्दथिन् । समय र सन्दर्भ अनुसार धेरै मित्र उत्कृष्ट हुन्छन्, तर प्रायः एउटै व्यक्ति सदाका लागि उत्कृष्ट मित्र रहिरहन सक्दैन । एउटा मित्र सधैँ उत्कृष्ट हुनु भनेको अर्को झनै उत्कृष्ट मित्र फेला पर्ने सम्भावनाको समाप्ति हो ।

ससाना बालबालिकाहरूले प्रत्येक कक्षामा फरक फरक वेस्ट फ्रेण्ड बनाउँछन् । नयाँ साथी बनाउने यो प्रक्रियाले बालबालिकाको जीवनमा ठुलो मूल्य राख्दछ । जागिरेको प्रत्येक कार्यालयमा अनेकौँ मित्र र प्रायः एक जना उत्कृष्ट मित्र हुन्छ । समयको दौरानमा ती सबै विस्मृत हुँदै जान्छन् र नयाँ मित्र बन्दै रहन्छन् । तर उनीहरूको निकटमा बिताएको हरेक क्षण उत्कृष्ट हुन्छ ।

श्रेय र प्रेय :
जीवनयात्राको क्रममा जसले खराब काम गर्नबाट जोगायो, असल कर्म गर्न प्रेरित गर्‍यो र सड्ढटको समयमा सहयोग गर्‍यो त्यही नै त्यस बखतका लागि उत्कृष्ट मित्र हो । प्रेयात्मक मित्रतामा भावुकता र क्षणिकता हुन्छ । कतिपय व्यक्तिहरू गलत हो भन्ने जान्दाजान्दै पनि मित्रको वचन टार्न नसकेर गलत ठाउँमा पुग्दछन् । मित्रताबारेको आदर्श कल्पनाबाट भ्रान्तिग्रस्त मित्रहरू मित्रकै कारण बरबाद भएका छन् । दुनियाँमा जति धोका वेस्ट फ्रेण्डबाट भएको छ त्यति अरू कसैबाट भएको छैन ।

कर्ण र दुर्योधनबिचको मित्रता बाध्यताको उपज थियो । कर्णलाई सामाजिक मान्यताको दरकार थियो भने दुर्योधनलाई एउटा वीर र उद्भट मित्रको आवश्यकता । कर्णलाई आफूले रोजेको मित्र प्रेयात्मक मात्र थियो भन्ने ज्ञान थियो तर उनी श्रेयात्मक मार्गको परित्याग गर्न विवश थिए । मित्रताले बाध्यतावश प्रपञ्च र जालझेलको साक्षी बन्न लाचार बनाउन सक्दछ । शुभकारी , मङ्गलकारी र श्रेयात्मक सम्बन्धमा प्रपञ्च र षड्यन्त्र लुकेको हुँदैन ।

दुनियाँ मतलबी छ । जीवनका सुख, दुःख, सफलता, असफलता सबै आफैमा सीमित कुरा हुन् । कुनै मित्रले पनि आफूलाई नोक्सान पर्ने गरी सहयोग गर्दैन । तर सच्चा मित्र आफ्नो मित्रको सफलतामा खुसी हुन्छ र दुःखमा सहानुभूति राख्दछ । मित्रले दुःखबाट पार पुर्‍याउन त सक्दैन तर घाउमा मलम लगाइदिन सक्छ । मित्रबाट प्राप्त सद्भावका दुई शब्द नै अमृत समान हुन्छन् । सुख र सफलतामा द्वेषरहित हाँसो र दुःख र विपदमा समवेदनापूर्ण सहानुभूति मित्रताको अमूल्य उपहार हो ।

Tags :
प्रतिक्रिया दिनुहोस