नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरूका लागि इण्डक्सन प्रोग्राम -परिचयात्मक कार्यक्रम_ आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटेल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् ।

उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रूपमा बिस्तार गर्ने योजनाको विषयमा जानकारी दिइन् ।

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ । सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रूपमा रूपान्तरण हुनेछ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शय्याको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्नेछ ।

यस्तै, आगामी पाँच वर्षभित्र नर्भिकले भैरहवामा १०० शय्या तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुई वटा स्याटलाइट अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ ।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्य योजनामा उल्लेख छ ।

पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक वसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले अस्पतालको स्तरीय सेवालाई व्यापक रूपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौँ ।’

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिकमा रूपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठुलो हुँदै छ ।’ उनले थपे–‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए ।

सो अवसरमा नर्भिकको नयाँ सञ्चालक समितिको परिचय निवर्तमान अध्यक्ष वसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरूको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस