पूर्वसचिवको टोलीद्वारा बाढी प्रभावितलाई १२ लाख सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वसचिवको टोलीद्वारा बाढी प्रभावितलाई १२ लाख सहयोग


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले बाढी प्रभावितलाई १२ लाख आर्थिक सहयोग गरेको छ ।

गत असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तहहरु मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई पूर्वसचिव शर्माको टोलीले रकम सहयोग गरेको हो ।

मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई रु तीन/तीन लाख र हेलम्बु गाउँपालिकालाई रु छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिए। सो रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरिएको थियो । पाँचपोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहेकामा उनलाई भेट गरी मङ्गलबार हस्तान्तरण गरिएको कट्टेलले बताए।

त्यस्तै सोमबार हेलम्बु गाउँपालिकालाई रु छ लाख रकम सहयोग गरिएको छ । सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमबार हस्तान्तरण गरिएको हो । रकम प्रदान गर्दै कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागि पर्दा शुभेच्छुकबाट स्वःस्फूर्तरूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सहयोग रकम नेपाल सरकारका पूर्वसचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्ति, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीबाट सङ्कलित भएको रकम हो ।

Tags :
प्रतिक्रिया दिनुहोस