इराकको एक अस्पतालमा आगलागी हुँदा ४१ को निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इराकको एक अस्पतालमा आगलागी हुँदा ४१ को निधन


एजेन्सी

२९ असार २०७८, मंगलबार


बगदाद । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९का बिरामीहरूको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात् आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमिटर टाढा रहेको छ ।

विशेष गरी कोभिडका बिरामीहरूको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । नासियारा सहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ ।

उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का सङ्क्रमितहरूलाई राखेर उपचार गर्ने क्वारेनटाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही बिरामीहरू घाइते भएका छन् ।

अस्पतालमा आगो लागेपछि ठुलो सङ्ख्याका अग्नि नियन्त्रकहरू आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठुलो क्षति हुन पुगेको बताइएको छ ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्न सक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक नै बोलाएका थिए ।त्यस्तै इराकको संसद्का सभामुखले सोमबार राति ट्विट गर्दै इराकी संसद्को बैठकमा मंगलबार सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिएका थिए ।

यहाँको प्रहरीले उक्त अस्पताल भवनमा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान थालेको बताएको छ । त्यस आगलागीमा परेर ज्यान जानेमा प्राय बिरामीहरू नै परेका अनुमान गरिएको छ ।यस विषयमा अस्पतालले केही बताएको छैन । अस्पतालले सो अस्पताल भवनमा कोभिड १९का सङ्क्रमितहरूको उपचार केन्द्र राखिएको र त्यहाँ कोभिडका मात्र बिरामीको उपचार गर्ने गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस