राजनीतिक खिचातानीका कारण हुन सकेन कृषि विश्वविद्यालयको सभा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजनीतिक खिचातानीका कारण हुन सकेन कृषि विश्वविद्यालयको सभा


२८ असार २०७८, सोमबार


चितवन । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्ष अघि स्थापना भएको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको विश्वविद्यालय सभा हुन सकेको छैन ।

राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि यस वष विश्वविद्यालय सभा नभइ बितेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको बताइन् । गत वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको भन्दै उनले त्यसपछि हालसम्म हुन नसकेको बताइन् । कोरोना बढेर निषेधाज्ञा भएकाले पनि सभा हुन नसकेको उनको भनाइ छ ।

उनले विश्वविद्यालय स्थापनापछि सभा हुन नसकेको यो पहिलो भएको बताउँदै सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउँदो वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने बताइन् । विश्वविद्यालयमा वार्षिक बजेट रु ६९ करोडको हाराहारीमा हुने गर्दछ ।

आउँदो साउनमा सभा गरेर दुई वर्षको बजेट तथा कार्यक्रम एकै पटक स्वीकृत गर्ने बताइएको छ । यस विश्वविद्यालयको सभामा २५ जना सदस्य रहेका छन् । उपकुलपति र रजिष्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाइ छ ।

नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्वपूर्ण मानिने विश्वविद्यालय सभा नहुनुलाई अर्थपूर्ण रुपमा लिने गरिन्छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.ड पुण्य रेग्मी पछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च गरिएको बताउँछन्।

विश्वविद्यालयभित्रको राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान सङ्कायका डिन प्रा.डा. बलराम भट्ट बताउँछन् । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे वर्षभर नै सभा हुन नसक्नु लाजमर्दो विषय भएको भन्दै सरकारले यस विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुनसक्ने बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस