नर्भिकमा भोलिदेखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर सञ्चालनमा आउँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नर्भिकमा भोलिदेखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर सञ्चालनमा आउँदै


२२ असार २०७८, मंगलबार


काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले असार २३ गते(भोलि)देखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरूका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालन हुन लागेको हो ।

चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ ।

डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरूमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरूको प्रयोग गरी स्तरीय सेवा दिने तयारी पूरा भएको र भोलि सेन्टरको उद्घाटन हुने डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा उपलब्ध छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरूमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाडाैँका विभिन्न अस्पतालसँग आबद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौँ बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात् निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ।

बढ्दो उमेर, ढिलो विवाह, धूम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको सङ्क्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरूमा बाँझोपन हुने अध्ययनहरूले देखाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस