बागमती प्रदेशको उत्कृष्ट डेरी फार्म : लालिगुँरास डेरी फार्म एन्ड रिसर्च सेन्टर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशको उत्कृष्ट डेरी फार्म : लालिगुँरास डेरी फार्म एन्ड रिसर्च सेन्टर


२१ असार २०७८, सोमबार


काठमाडौँ । कृषिलाई व्यवसायीकरण गरी स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै ग्रामीण समुदायको गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर देशकै नमुना मध्येकै एक हो ।

यस आर्थिक वर्ष २०७७/०७८ मा फार्मलाई बागमती प्रदेश सरकारले प्रदेशस्तरीय ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ समेत प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय, हेटौँडाले प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी सो पुरस्कार प्रदान गरेकोमा यस फार्मले तेस्रो स्थानमा ओगट्न सफल भएको छ ।

२०७० सालमा चितवनको खैरहनी नगरपालिका वडा नं. १२ स्थित कुमरोजमा प्रारम्भ भएको यो सेन्टर ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको हो ।

१७.३ बिगाहा क्षेत्रफलमा रहेको यस फार्मको ७ बिगाहामा गाई पालन गर्ने गोठ, दाना तयार गर्ने घर, घाँस, पराल आदि भण्डारण कक्ष, मिल्किङ्ग पार्लर, गाई चराउने घाँसे मैदान, साइलोपिट, गोवर ग्यास प्लान्ट, मेसिन तथा औजार भण्डारण, गाडी पार्किङ स्टल, आवास तथा कार्यालय भवन रहेका छन् । बाँकी क्षेत्रफलमा विभिन्न जातका बहुबर्षीय भुईघाँस र डाले घाँस रोपण गरिएको छ ।

सहकारीको व्यवस्थापनमा सञ्चालित यो स्केलको फार्म नेपालको सन्दर्भमा पहिलो रहेको सञ्चालकहरूको भनाई छ ।

उन्नत नश्लका गाईबाट गुणस्तरयुक्त दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्नुको साथै उन्नत नश्लका गाईको स्रोत केन्द्रको रूपमा विकास गरी नमुना डेरी फार्म सञ्चालन गर्ने यस फार्मको लक्ष्य रहेको छ ।

फार्ममा विभिन्न उमेर समूहका जर्सी क्रस, होलिस्टेन क्रस र साइवाल क्रस गरी कुल ५५१ वटा गाईहरू छन् । फार्ममा प्रतिदिन औसतमा करिब एक हजार चार सय लिटर दूध उत्पादन हुने गरेको छ । भविष्यमा प्रतिदिन फार्मको औसत दूध उत्पादन दश हजार लिटर पुर्‍याउने लक्ष्य सञ्चालकले राखेका छन् ।

नेपालको तराई क्षेत्रमा जर्सी र साइवाल जातका गाईहरू उपयुक्त देखिएको फार्मको अनुभव छ ।

परम्परागत रूपमा हातले दूध दुहुने प्रणालीलाई निरुत्साहित गरी गुणस्तरीय दूध उत्पादनको लागि मेसिनद्वारा दुहुने गरिएको छ । दूधको गुणस्तर कायम गर्न मेसिनबाट दुहेको दूध बढी स्वस्थकर हुने गर्दछ । तसर्थ, पूर्णतया मेसिनबाट नै दूध दुहिने हुँदा यस फार्ममा उत्पादन भएको दूध सफा र स्वस्थ हुने फार्म सञ्चालक बताउँछन् ।

फार्ममा उत्पादन भएको दूध बजारमा पठाउनु अघि गुणस्तर कायम गर्न चिसो तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा प्रति टयांकी दुई हजार लिटर क्षमताको दुई वटा चिलिङ्ग भ्याट राखिएको छ । मिल्किङ्ग पार्लरबाट मेसिनले दुहेको दूध सिधै चिलिङ्ग भ्याटमा सङ्कलन हुन्छ । यसै गरी फार्ममा उत्पादित दूध परीक्षणको लागि आफ्नै प्रयोगशाला पनि छ । फार्मबाट उत्पादन हुने दूधलाई हाल आफ्नै प्रशोधन प्लान्ट नबनेसम्म अन्य दूध प्रशोधन गर्ने उद्योगलाई बिक्री गरिँदै आएको छ ।

दूधको उत्पादकत्व वृद्धि गर्न र हाड नाता(इन-ब्रिडिङ) नपरोस् भन्नका लागि फरक वंशबाट प्रजनन गराउन साँढे उत्पादनमा जोड दिनु पर्ने हुन्छ । फार्ममा प्रजनन साँढेको व्यवस्था छ । बढी दूध दिने नश्लका गाईहरूबाट प्रजननको लागि बाच्छी छनौट एवं सङ्कलन गरी स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लैजाने सोच छ फार्मको । भविष्यमा यस क्षेत्रका समुदायका लागि फार्मकोस्रोत केन्द्रको रूपमा सेवा प्रदान गर्ने हेतुले राम्रो नश्लका साँढे उत्पादन गर्ने लक्ष्य रहेको छ ।

फार्ममा आवश्यक दाना पदार्थ आफैले उत्पादन गर्ने गरिन्छ । यसका साथै फार्मको लागि आवश्यक पर्ने विभिन्न जातका पोषणयुक्त हरियो घाँस उत्पादन गरी नियमित रूपमा खुवाउने व्यवस्था मिलाइएको छ । फार्मलाई आवश्यक पर्ने परिमाणमा घाँस रोपण गर्न फार्मको कम्पाउन्ड भित्र रहेको करिब १० बिघा जग्गाको अतिरिक्त २८ बिघा निजी जग्गा भाडामा लिई घाँस खेती गरिएको छ ।

फार्मलाई तालिम केन्द्र तथा सीपको केन्द्र बनाउने उद्देश्य पूर्तिका लागि फार्म भित्र १५ देख २० जना सहभागीहरूलाई आवासीय तालिमको व्यवस्थापन गर्ने गरी संरचना विकास भएको छ ।

फार्मले हाल १ जना भेटेरिनरी डाक्टर, २ जना प्राविधिक सहित ५२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको फार्म व्यवस्थापनले जनाएको छ ।

यसरी बागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा पशु पालन तथा दूध उत्पादन क्षेत्रमा गरेको योगदानको कदर गरिए पछि आफूहरूलाई थप प्रेरणा र हौसला मिलेको भन्दै आफ्नो व्यवसायलाई राष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन लागि पर्ने फार्मको प्रशासन प्रमुख कृष्ण भण्डारीले बताए ।

मन्त्रालयले प्रदेशभित्र कृषिका विभिन्न विधाअन्तर्गत अमूल्य योगदान पुर्‍याउँदै आएका किसानलाई पुरस्कृत गर्दै आइरहेको छ । कृषकको योगदानलाई सम्मान गर्ने र कृषि पेसालाई आकर्षक एवं सम्मानित पेसाको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने उद्देश्य सहित यस पुरस्कार वितरण गरिएको मन्त्रालयका सहायक प्रवक्ता दिपेन्द्र मणी लामिछाने बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस