निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल


२० असार २०७८, आइतबार


दुल्लु । निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म हाजिर लगाउने र कार्यालयको आन्तरिक काममात्र हुने गरेको भए पनि आजभोलि दिनमा सेवाग्राहीको कामले फुर्सद नहुने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख पर्शुराम आचार्यले बताए । ‘सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउँदै सेवाग्राहीलाई सेवा दिइरहेका छौँ’, उनले बताए । अहिले त्यो कार्यालयमा मात्र होइन जिल्लास्थित सबै कार्यालयमा सेवाग्राहीको निकै चहलपहल छ ।

विकास निर्माणसँग सम्बन्धित कार्यालयमा त झन भीड नै लाग्ने गरेको छ । विशेषत सामाजिक विकास कार्यालय, जिल्ला कृषि विकास कार्यालय, पूर्वाधार तथा भौतिक निर्माण कार्यालय, जिल्ला वन कार्यालयलगायत प्रायः जिल्लास्थित सबै कार्यालयमा सेवाग्राहीको बाक्लो चहलपहल हुने गरेको पाइएको छ ।

जिल्ला वन कार्यालयले घाँस तथा काठ हुने जातका बिरुवा वितरण गरेपछि त्यहाँ बिरुवा लिनेको भीड आइतबार बिहानैदेखि लागेको छ । निषेधाज्ञा खुकुलो हुनासाथ बिरुवा लिनेको बिहानैदेखि भीड लागेको जिल्ला वन कार्यालयका प्रमुख टेकबहादुर रानाले जानकारी दिए ।

दैलेख सदरमुकाममै रहेको नारायण नगरपालिका कार्यालयमा योजनाको भुक्तानी लिनेको निकै चहलपहल पाइएको छ । असार २३ गतेसम्म योजनाको काम सम्पन्न गरी भुक्तानी लिइसक्नुपर्ने सरकारले नीति बनाई दिएपछि योजनामा संलग्न सेवाग्राहीको भीड लागेको लेखापाल मोहन थापाले जानकारी दिए।

दिनमा सेवाग्राहीको ३०० देखि ४०० सम्मको हाराहारीमा कार्यालयमा आउजाउ हुन्छ सेवाग्राहीको चापसँगै कोरोनाको जोखिम पनि उत्तिकै बढेर गएको उनको आशङ्का छ । त्यस्तै जिल्लाका अन्य १० स्थानीय तहमा पनि सेवाग्राहीको चाप ह्वात्तै बढेर गएको पाइएको छ ।

सेवाग्राही र कर्मचारीबीच सामाजिक दूरी कायम गर्ने प्रत्येक फाँटमा स्यानिटाइजरको अनिवार्य प्रयोग गरी सेवा प्रभाव गर्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । दैलेखमा वैशाख २१ देखि निषेधाज्ञा लगाइएको थियो भने असार १७ गतेदेखि खुकुलो पारिएको प्याकुरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस