पुनर्निर्माणपछि उही शैली र स्वरूपमै ठडियो धरहरा(भिडियो रिपोर्ट) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुनर्निर्माणपछि उही शैली र स्वरूपमै ठडियो धरहरा(भिडियो रिपोर्ट)


१९ असार २०७८, शनिबार


काठमाडौँ । सानै बेला गाउँमा स्कुल पढ्दाको समयमा धेरैजसो सँगैका साथीभाइलाई नेपालको राजधानी काठमाडौँ कस्तो होला भन्ने कौतुहलता हुन्थ्यो ।

काठमाडौँ उपत्यकाको बिच भागमा अवस्थित धरहराको बारेमा राजधानी घुमेका मान्छेहरूले बयान गर्दा धरहरा हेर्न पाए त हुन्थ्यो जस्तो लाग्थ्यो । २०७२ सालमा गएको महाभूकम्पले धरहरा पनि ढलायो, धरहरा ढलाएसँगै साथीभाइहरू कतिपयको धरहराको टुप्पोमा चढेर काठमाडौँ सहरलाई नियाल्ने सपना पनि ढलेजस्तै भएको थियो ।

नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले ढलेको धरहरालाई उही स्वरूप, उही शैलीमा फेरी समयमै पुनर्निर्माण सम्पन्न गरेसँगै धरहरामा चढेर काठमाडौँ सहरलाई नियाल्ने कतिपयको अधुरो सपना पनि पूरा हुने भएको छ ।

वि.सं. १८८२ मा पहिलो पटक महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मिटर उचाइको ११ तल्ले धरहरा निर्माण भएको थियो । क्षतिग्रस्त धरहराको मूल ढोकामाथि राखिएको ताम्रपत्रमा यो मिति उल्लेख गरिएको छ ।

वि.सं. १९१३ मा चट्याङ परी भत्किएपछि १९२६ मा जीर्णोद्धार भयो । फेरी वि.सं. १९९० (माघ २) मा महाभूकम्पमा परी भत्कियो । १९९२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाद्वारा त्यसको पुनर्निर्माण गरियो ।

सो पुनर्निर्माणपछि धरहरा ११ तल्लाबाट ९ तल्लामा सीमित रह्यो । पछिल्लो समयमा फेरी नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पले पूर्णरुपमा ढलायो, त्यसपछि अहिले नेपाल सरकारले पुनर्निर्माण गरिरहेको छ ।

धरहराको इतिहास पल्टाएर हेर्ने हो भने धरहराको ऐतिहासिक एवं पर्यटकीय महत्त्व छ । काठमाडौँ उपत्यकाको मध्य भागमा अवस्थित उच्च धरोहर महारानी धरहरा एवं भीमसेन स्तम्भका नामले पनि प्रसिद्ध छ ।

काठमाडौँ उपत्यकाको प्रायः सबैतिरबाट सहज रूपमा देख्न सकिने यो स्तम्भलाई नेपालकै एउटा मात्र मिनार वास्तुकलाका रूपमा समेत चिनिन्छ ।

राणाकाल र पछिसम्म पनि सैनिक एवं प्रशासनिक सूचना दिन र मानिस भेला गर्न बिगुल फुक्ने स्थानका रूपमा यो स्तम्भको उपयोग गरिन्थ्यो । स्तम्भको टुप्पामा गजुर राखिएको हुँदा यो स्मारकलाई धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।

पहिले धरहराको सातौँ तलामा बार्दली रहेको थियो । सबैभन्दा शीर्ष तलामा एउटा शिव लिङ्ग राखिएको थियो । यो ऐतिहासिक स्तम्भलाई राष्ट्रिय गौरवका अतिरिक्त भीमसेन थापाको महत्त्वाकाङ्क्षाको प्रतीक मानिन्छ ।

धरहरालाई हिन्दु एवं मुस्लिम वास्तुकलाको प्रतिनिधित्व गर्ने नेपालीहरूको आस्था र उमङ्गको प्रतीकका रूपमा मानिन्छ । यो १८औँ शताब्दीदेखि हालसम्मका स्रष्टाहरूको कल्पनालाई समेत प्रभावित पार्न सफल स्तम्भ हो ।

स्तम्भको उचाइ जमिनको सतहदेखि गजुरको टुप्पोसम्म ६१.८८ मिटर रहेको थियो । धरहराको वरिपरि चारैतिरबाट युरोपेली वास्तुकलाले घेरिएको थियो । अहिले पछिल्लो पुनर्निर्माणपछि जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर रहेको छ ।

पुनर्निर्मित धरहरा बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना छ र जमिनमाथि भुईंतलासहित २३ तला छ । यसरी समग्रमा धरहरा २५ तल्लाको छ ।

धरहराभित्र २ वटा लिफ्ट छन् । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्छन् । यसबाट बृद्धवृद्धा एवं अपाङ्गता भएका व्यक्तिहरूलाई धरहरामाथिको पहुँचमा सहजता हुनेछ । साथमा फलामको भर्‍याङ पनि रहेको छ ।

धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औँ तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिव लिङ्ग स्थापना गरिएको छ ।

धरहरा मुनिको दुई तले भूमिगत संरचनामा दुई वटा विद्युतीय स्वचालित भर्‍याङबाट तल माथि गर्न सकिन्छ ।

महारानी ललित त्रिपुरा सुन्दरी देवीले वि.सं. १८८५ मा धरहरा नजिकै सुनधाराको निर्माण गराएकी थिइन्, जो आधुनिक कालमा निर्मित काठमाडौँ उपत्यकाको सबैभन्दा भव्य र आकर्षक ढुङ्गे धारा मानिन्छ ।

वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेपछि फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु भयो ।

सो अभियान अन्तर्गत धरहरा निर्माण कोष खडा गरिएपछि कोषमा देश–विदेशबाट नेपालीहरूद्वारा सहयोग रकम प्राप्त भयो ।

वि.सं. २०७३ (असार २९) मा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिइयो । टेलिकमद्वारा धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव ल्याएपछि यसको पुरातत्त्व विभाग तथा सर्वसाधारणबाट विरोध भएपश्चात् नेपाल टेलिकम धरहरा निर्माणको जिम्मेवारीबाट पछि हट्यो ।

वि.सं. २०७४ कात्तिक २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकद्वारा धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण वा प्राधिकरणले तोकेको निकायबाट गर्ने निर्णय गर्‍यो । वि.सं. २०७५ वैशाखमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्‍यो ।

वि.सं. २०७५ असोज १४ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौता भई धरहरा पुनर्निर्माणको कार्यारम्भ भयो । वि.सं. २०७५ पुस १२ मा प्रधानमन्त्री तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीद्वारा ऐतिहासिक धरहरा पुनर्निर्माणको विधिवत् शिलान्यास गरियो । वि.सं. २०७८ वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्निर्मित धरहराको समुद्घाटन गरियो ।

करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा आयोजनाको कुल लागत अनुमान ५ अर्ब ४६ करोड छ भने आयोजनाको कुल ठेक्का रकम ३ अर्ब ४८ करोड(भ्याट समेत) छ ।

निर्माण व्यवसायी जिआइईटिसी-रमन कन्स्ट्रक्सन जेभीले आयोजनाको ठेक्का सम्झौता २०७५ असोज १४ मा गरेकोमा दोस्रो पटक म्याद थप गरी जेभीले आयोजनाको २०७८ पुस १० भित्रै धरहराको सबै संरचनाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो विनाशकारी भूकम्प र तत्पश्चात्का परकम्पका कारण क्षतिग्रस्त संरचनाको दिगो, दरिलो र योजनाबद्ध रूपमा यथाशीघ्र निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय हित प्रवर्द्धन तथा सामाजिक न्याय प्रदान गर्नु प्राधिकरणको प्रमुख उद्देश्य रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले प्रशासनलाई जानकारी दिए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागले नेपालका धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

पुनर्निर्माण भइरहेको धरहरा क्षेत्रका मुख्य-मुख्य संरचनाहरूमा दुई तले भूमिगत संरचनासहितको धरहरा, तीन तले भूमिगत पार्किङ, एउटा अर्ध-भूमिगतसहित चार तल्ले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय र ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ हुनेछ ।

साथै विश्राम स्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरा, संरक्षित ऐतिहासिक भीमसेन स्तम्भ, संरक्षित ऐतिहासिक सुनधारा जसमा हुनेछ । २४ सै घण्टा पानी झर्ने व्यवस्था र धरहरा एवं सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल हुनेछ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ । भूकम्पको ६ वर्षपछि ठडिएको २२ तलाको धरहरा २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको छ । धरहराको पुनर्निर्माण सम्पन्न भए तापनि धरहरा क्षेत्रका बाँकी संरचनाहरूको निर्माण कार्य भने जारी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस