उफ् खानेपानी ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उफ् खानेपानी !


१४ असार २०७८, सोमबार


खानेपानी मान्छेको गाँस, बास, कपाससँग लिनै पर्ने आधारभूत आवश्यकता मध्ये एक हो। काठमाडौँ उपत्यकाको बाक्लो, अव्यवस्थित र अवैज्ञानिक बस्तिले खानेपानी समस्या चुलिँदै गएको छ। यो अवस्था झनै विकराल हुने देखिन्छ। मल्लकालीन समयमा बनेका पोखरी सतही पानी रिचार्ज, बाढी वा खोलानालाको बहाव नियन्त्रण तथा वर्षातकाे पानी सङ्कलन गरी पानीको प्रयोगको लागि हो भनी हामीले अझै बुझ्न सकेका छैनौँ। त्यसैले त प्लटिङ, प्लानिङ, बाटो पिचको रङ्गिन दुनियाँमा पानीको प्यास र वितण्डालाई समेट्न सकेका छैनौँ।

प्राविधिक भएको नाताले कामको सिलसिलामा थुप्रै सिमेन्ट उद्योग, डण्डी उद्योग, दुग्ध उद्योग, चिस्यान केन्द्र, इँटाभट्टा, अस्पताल, होटेल तथा खानेपानी आदि क्षेत्रमा रहेका विद्युतीय तथा तापीय उपकरण र मेसिनहरूको अध्ययन गरी ऊर्जा खपत न्यूनीकरण गरी किफायती तथा दक्षतापूर्वक उद्योगहरू सञ्चालन गरी वातावरण प्रदूषण न्यूनीकरण क्षेत्रमा कार्यरत रहेँ। कामको सिलसिलामा मैले ऊर्जा अडिट गरी अध्ययन गरेका खानेपानी आयोजनाहरू सान्दर्भिक भएकोले प्रस्तुत गर्न चाहेँ।

१) धुलाबारी खानेपानी आयोजना, मेचीनगर, झापा
विसं २०५२ मा स्थापित धुलाबारी खानेपानी आयोजना, मेचीनगर, झापामा अवस्थित हाे । यो आयोजनामा खोला र बोरिङबाट आएको पानी असभ्य फिल्टर, ढिलो रेत फिल्टर, क्लोरीनेसन प्रक्रियाबाट शुद्धीकरण गरी नाै लाख लिटरको जमिनको स्टाेरेज ट्याङ्कमा जम्मा गरिसकेपछि अर्को ४.५ लाख लिटर ट्याङ्कबाट उक्त गाविसमा खानेपानी वितरण गरिएको पाइन्छ ।

२) गौरा दह खानेपानी तथा सरसफाइ समिति गौरा दह, झापा
विसं २०५२ मा स्थापित झापामा रहेको गौरादह खानेपानी आयोजनामा छुट्टै पानी शुद्धीकरण प्रक्रिया छ। पन्ध्र किलोवाटका दुईवटा बोरिङ पम्पले पानी तानेर वातन फिल्टरमा पठाई प्रेस्युराइज्ड फिल्टर प्रक्रियाबाट पानी शुद्धीकरण गरेको छ। उक्त पानी ३.५ लाख लिटरको भूमिगत भण्डारण ट्याङ्कमा राखिसकेपछि १ लाख लिटरको ओभरहेड ट्याङ्कबाट गौरा दह गाविसका १६०० घरधुरीलाई ५३ किलोमिटर लामो पाइप लाइनबाट खानेपानी वितरण गरिएको छ।

३) दमौली खानेपानी तथा सरसफाइ समिति, व्यास, दमौली
विसं २०६९ मा नेपाल सरकारको ५० प्रतिशत नगर विकास कोषको ४५ प्रतिशत सहुलियत ऋण र ५ प्रतिशत स्थानीय उपभोक्ता समितिको लगानीमा व्यास नगरपालिका दमौलीकावडा २, ३ र ४ मा खानेपानी वितरण र सरसफाइको लागि उपभोक्ता समितिबाट सञ्चालित खानेपानी संस्था हो। यो संस्थाले ६१ किलोमिटर पाइपलाइन प्रणालीबाट ३३०० घरधुरीलाई खानेपानी वितरण गरिरहेको  ।

तनहुँ जिल्लामाअवस्थित मादी खोलाबाट ३८ किलोवाटको तीन वटा पम्पहरू प्रयोग गरी खोलाबाट १०६मिटर उचाई (हेड) माथिसम्मको फिल्टर प्रणालीमा पानी तानेर फिल्टर गरी विभिन्न भेगमा १ लाख, २ लाख, ४ लाख, ५ लाख लिटरका भण्डारण ट्याङ्कहरूबाट खानेपानी वितरण गरिएको पाइन्छ।

४) पृथ्वीनारायण खानेपानी तथा सरसफाइ समिति गोरखा
विसं २०६० मा गोरखामा स्थापित पृथ्वीनारायण खानेपानी तथा सरसफाइ समितिले छाङ र दार्के खोल्साबाट पानी सङ्कलन गरी फिल्टर गरिसकेपछि खोल्साबाट ठाडो उचाई (हेड) ४४० मिटरमाथि पहाडको बस्तीमा ४ चरणमा ८ वटा ४० किलाेवाटका पम्पहरू चलाई ४ चरणमा जलाशय ट्याङ्क बनाई नगरपालिकाको घरधुरीमा खानेपानी वितरण गरेको छ। गोरखामा ४ चरणमा ४४० मिटर अल्टिच्युडमा ठूल–ठूला पम्पहरू तथा जलाशय ट्याङ्क बनाउनु परेकोले लागतको हिसाबले गोरखामा खानेपानी महँगो देखिन्छ।

एक उदाहरण: भक्तपुर नगरपालिका र खानेपानी
यस हिसाबले भक्तपुर नगरपालिकाभित्र नगण्य विद्युतीय ऊर्जाको प्रयोगमा मुहान पोखरीको सस्तो पानी खाइरहेका छौँ । तर, पनि वर्षातमासमेत पानीको समस्या ज्युँका त्युँ छ। भक्तपुर नगरपालिकाभित्र २०७२ सालको भूकम्पपछि बस्ती विस्तारले खानेपानी समस्या एकदमै चुलिएको छ। अहिलेको आँकडामा बस्ती र जनसङ्ख्या वृद्धि भएमा पानीको हाहाकार अझै बढ्ने देखिन्छ। घरघरमा रहेका इनार, बोरिङ्गमा पनि पानी कममात्रै आउने भएकोले खानेपानी र अन्य प्रयोजनको लागि भक्तपुर जिल्लाको खानेपानी संस्थान र केयूकेएल स्थानीय निकायसँग समन्वय तथा सहकार्य गरी अघिबढ्नुपर्छ।

भक्तपुर नगरपालिकाभित्र खानेपानी समस्या समाधानका लागि निम्न उपायहरू अपनाउनु समयोचित देखिन्छ ।

१) भक्तपुर नगरभित्र खानेपानी वितरण व्यवस्थापन कार्यभार पाएको खानेपानी संस्थानले नगरकोट मुहान पोखरीदेखि नगरभित्र घरधुरीमा पानी वितरण गरिँदा थुप्रै ठाउँमा पाइप लाइन भल्भहरूमा भएको पानी चुहावट अध्ययन गरी चुहावट रोक्नुपर्दछ। यसबाट बचेको पानी अभाव भएको ठाउँमा वितरण गर्न सकियोस्।

२) खानेपानी संस्थानको भरमा मात्र नपरी नगरपालिका आफैले चारै दिशातिर पानी मुहान, खोल्सा, खोला पहिचान गरी उक्त क्षेत्रबाट पानी ल्याउने योजना बनाउनुपर्छ। जस्तै भक्तपुरको दक्षिणी भेग रानीकोटको दक्षिणी तल्लो भेगमा दोभानबाट पम्प लगाई पानी तानेर व्यवस्थापन गर्न सकिन्छ कि वा अन्तर जिल्ला समन्वय गरी छिमेकी जिल्लाको मुहान खोल्सा/खोलाबाट पानी ल्याउन सकिन्छ कि, सम्भाव्यता अध्ययन गरिनुपर्दछ।

३) मानव बस्ती सभ्यता पानीको स्रोत भएको ठाउँबाट भएको थियो। ऐतिहासिक पोखरी, ढुङ्गे धारा, कुवा, इनार आदि सभ्यता विकासको क्रममा बनेका वैज्ञानिक सम्पदा हुन्। यी सम्पदाहरूको सरसफाइ तथा मर्मत सम्भार भक्तपुर नगरपालिकाले गर्दै आएको छ। उक्त कार्यलाई निरन्तरता दिई सम्पदा संरक्षण सम्वर्द्धन गरिनुपर्दछ।

४) भक्तपुर जिल्लामा ३५ वटा पोखरी र ८३ वटा ढुङ्गे धाराहरू रहेका छन्। यी पोखरीहरूमा पहिलेको तुलनामा पानीको सतह घटेको र माटो जमेको पाइन्छ। कुनै कुनै ढुङ्गे धाराहरूमा बाहेक प्रायःमा पानी सुकेको छ। तसर्थ जमिनको सतही पानी भूमिगत पानी रिचार्ज गर्ने विभिन्न उपायहरू अपनाउनुपर्दछ।

पोखरी छेउछाउ वृक्षारोपण, पर्याप्त खुला क्षेत्र, पानी सोस्ने बाटो तथा जमिन र वर्षातकाे पानी पोखरीमा भरिराख्ने र सुख्खा मौसममा प्रयोग गर्ने उपाय अपनाउनुपर्दछ। यस सन्दर्भमा भक्तपुर नगरका सडक र चोकहरूमा ढुङ्गा छपाइ र पिच गर्नुभन्दा इँटा छपाइ नै उपयुक्त देखिन्छ।

५) घरघरमा रेन वाटर हार्भेस्टिङ गरेजस्तै नगरभित्र सम्पूर्ण पोखरीको साबिक गहिराइ कायम गरी बर्षातकै पानी पोखरीमा जम्मा गरिनुपर्दछ। जसले ग्राउन्ड वाटर रिचार्ज हुनुका साथै खोलानालामा पानीको बहाव कम हुन्छ र पोखरीको पानी सुख्खा मौसमको अन्य प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ। पोखरी ढुङ्गे धाराको मुहान वा स्रोत हो र धारा, ढुङ्गे धारा मात्र वितरण प्रणाली हो।

तसर्थ, पोखरीले सौन्दर्य, शीतलको वर्षातकाे पानी सङ्कलन गरी ग्राउन्ड वाटर रिचार्ज गर्ने कार्य गर्दछ। यो एक फिल्टर पनि हो र  रेन वाटर हार्भेस्टिङ को नमुना हो। त्यही भएर हाम्रा पुर्खाहरूले यो वैज्ञानिक सिद्धान्तलाई लागू गरे प्रकृतिसँग मिलन भएकै कारण प्राकृतिक विपत्बाट टाढा रहे । तर, हामी पुर्खाकै सन्तति भएर पनि प्रकृतिलाई ठाडो चुनौती दिएर पोखरी, ढुङ्गे धाराजस्ता वैज्ञानिक सम्पदा मासेर गगनचुम्बी भवनहरू बनाई, ठूलठूलाबस्ती, प्लाटिंग, योजना बनाई प्रकृतिलाई चुनौती दिन्छौँ र बाढी, पहिरोलगायत पानीको खडेरी, पानीको हाहाकार हामी आफै निम्त्याउँदै छौँ।

वर्षातकाे पानीले बस्ती नडुबोस् र वर्षात्को पानी पुनः प्रयोगको लागि पोखरीहरू बनेका थिए । तर, नयाँ बस्तीमा पोखरी र ढुङ्गे धाराहरू एउटै पनि बन्न नसक्नुको कारण बस्ती र बाटोका पानी सीधै खोलामा पुगेर बाढीको रूप लिएको देखिन्छ ।

तसर्थ, एक्काइसौँ शताब्दीका सभ्य र स्मार्ट मानव हुने हो भने हामीसँग हाम्रा पुर्खासँग भन्दा स्रोत, साधन र सामर्थ्य छ। अलिकति पुर्खाकै भए पनि विवेक पैँचो लिई हरेक नयाँ बस्तीहरूमा मल्लकालीन भक्तपुर नगरमा जस्तै ठाउँ ठाउँमा पोखरीहरूलगायत ढुङ्गे धारा बनाइनुपर्दछ। जसले पानीको समस्या केही हदसम्म समाधान गर्नेछ।

(लेखक औद्योगिक इन्जिनियर तथा नवीकरणीय ऊर्जा इन्जिनियर हुन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस