कञ्चनपुरका स्थानीय तहका कार्यक्रम : ‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रबृत्ति’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरका स्थानीय तहका कार्यक्रम : ‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रबृत्ति’


१२ असार २०७८, शनिबार


कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति तथा कार्यक्रम ल्याएको हो । स्वास्थ्य संस्थामा छोरी जन्मिए नगरपालिकाले नाममा खाता खोलेर तीन हजार रकम जम्मा गरिने व्यवस्था गरिएको छ ।

नगर उपप्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पत्तिलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम ल्याइएको बताए । उनका अनुसार भानु माध्यमिक विद्यालयमा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको छ । हिंसा पिडीत महिलाका र दशनामी तथा सन्यासी सामुदायका लागि पनि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरिएको छ । नगरपालिकाले आगमी आर्थिक वर्षका लागि रु ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए ।

एकल पुरुषलाई भत्ता

कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ । आव २०७८/७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

‘विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ’, नगर प्रमुख कर्णबहादुर हमालले भने, ‘अरुमा आश्रीत भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।’

योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकालाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुआत गरिने भएको छ । नीति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने उल्लेख छ । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९२ करोड ५६ लाख ४२ हजारको बजेट नगर सभामा पेश गरेको छ ।

प्राविधिक शिक्षाका लागि छात्रबृत्ति

बेदकोट नगरपालिकाले प्राविधिक शिक्षा पढ्का लागि दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र विपन्न गरिब जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बजेटको व्यवस्था गरेको छ । छात्रबृत्ति प्रदान गरी चिकित्सक, पाइलट, ईन्जिनियर , कृषि विज्ञान , सवईञ्जिनियर , सर्वेक्षक, स्टाप नर्स, जेटिए, अनमी, एचएलगायत दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगरपालिकाको नगर सभाले रु ५५ लाख बजेट विनियोजन गरेको छ ।

‘दक्ष प्राविधिक जनशक्ति उत्पादनको अभाव खेप्नु नपरोस् भनेर लक्षित समुदायका युवालाई छात्रबृत्ति दिने व्यवस्था गरेका छौँ’, नगर प्रमुख अशोक चन्दले भने, ‘आर्थिक अभावकै कारण प्राविधिक शिक्षा पढनबाट कसैले पनि बञ्चित हुनु पर्दैन ।’ प्रारम्भिक बाल शिक्षकलाई नगरपालिकाले मासिक रु सात हजार दिने र उपयुक्त विद्यार्थी सङ्ख्या अनिवार्य हुनुपर्ने नगर सभाले निर्णय गरेको छ ।

सामुदायिक विद्यालयका कर्मचारीको तलबमा नगरपालिकाले रु १० हजार ५००, सात हजार ५०० र तीन हजार ५०० दरले मासिक थप तलव गरी बजेटमा व्यवस्था मिलाएको छ । लामो समयदेखि कार्यरत स्वास्थ्य स्वयंसेविकालाई अवकाश लिँदा एकमुष्ट रु दुई लाख रकम दिने बजेटमा उल्लेख गरिएको छ । बेदकोट नगरपालिकाको नवौँ नगर सभाबाट आब २०७८/७९ का लागि रु ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरिएको छ ।

भीमदत्त नगरपालिकाको ‘म मेरो नगर बनाउँछु’

भीमदत्त नगरपालिकाले ‘मेरो नगर म बनाउँछु’ भन्ने नारासहित स्वच्छ र हरियाली सहर बनाउन, प्रदेश र सङ्घ सरकारीसित साझेदारी गर्ने भएको छ । कार्यक्रमअन्र्तगत नगर सरसफाईसँगै हराभरा नगर बनाउने योजना नगरपालिकाले अघि सारेको छ । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार्नका लागि एक वडा, एक नमूना विद्यालय बनाउने योजना समेत नगरपालिकाको रहेको छ ।

नगर क्षेत्रका शिक्षण संस्थाका शैक्षिक गुणस्तर सुधारका लागि एक वडा एक नमूना विद्यालयको नीति लिइएको छ । आगामी वर्ष पूर्ण साक्षर नगर घोषणा गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि सामुदायिक अध्ययन केन्द्र, स्वयं सेवक र विद्यार्थी परिचालन गर्ने कार्यक्रम आएको छ ।

आगामी वर्ष ‘म स्वस्थ मेरो नगर स्वस्थ, निरोगी भीमदत्त’ कार्यक्रमलाई समेत अघि सारिएको छ । निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगमी वर्ष पनि निरन्तरता दिइएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिएर प्रसूती सेवा विस्तार गर्ने नीति लिएको छ ।

आगामी वर्ष सार्वजनिक स्थानमा नगर योग केन्द्र सञ्चालन गर्ने, दुई सय विपन्न परिवारका लागि स्वास्थ्य बीमा गर्न बजेटको व्यवस्था गरिएको नगर प्रमुख बिष्टको भनाइ छ । आगामी वर्षका लागि महिलाका लागि सहेली नारी उत्थान कार्यक्रम, सुरक्षित नारी, समृद्ध नारी, एक वडा एक पर्यटन गन्तव्य, भरोसा कृषि प्रवद्र्धन कार्यक्रम, एक वडा एक उत्पादनलगायत कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन ।

सहकारी क्षेत्र बलियो बनाउन एक सहकारी एक वस्तु उत्पादनको नीति लिइएको छ । मेयर उद्यमशिलता विकास कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षमा नेपाल बैंक लिमिटेडसँग साझेदारी गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिका क्षेत्रका वन क्षेत्रलाई आय आर्जनसँग जोड्न एक वडा एक उद्यम कार्यक्रम सञ्चालनका लागि समेत बजेटको व्यवस्था गरेको छ । यसैगरी एक वडा एक उद्यान कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

फोहरबाट मोहर र मेरो सहर म आफैं सफा गर्छु अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट पारित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस