तिम्रो सम्झनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तिम्रो सम्झनामा


१२ असार २०७८, शनिबार


आमा,
म बाल्ने छु सधैँ
एउटा उज्यालो ज्योति
तिम्रो सम्झनामा।
बाजेले जोगाएको
एउटा पुलकित विरासत
बाबुले आर्जेको
एउटा गर्विलो गौरव
म कदापि ढल्न दिने छैन
कुनै वैरीको स्वार्थका खातिर।।

जहिले सम्म रोकिन्नन्
बग्दै गरेका नदीहरू
जहिले सम्म फर्किन्नन्
उड्दै गरेका चराहरू
जब मेटिन्नन्
आइरहने यादहरू

जब सम्म बगिरहन्छ
रातो रगत सधैँ
म लडिरहने छु
हिउँहरूको पक्षमा
पहाडहरूको पक्षमा
चुरे, भावर र तराईको पक्षमा।।

आमा,
तिम्रो सम्झनामा
म खाली आँसु झार्ने छैन
म बगाउनेछु/बढार्नेछु
त्यही आँसुको भलले
तिमिलाई चिरा पार्नेहरूलाई
तिमिलाई सधैँ रुवाउनेहरूलाई
तिमिलाई बिर्सन खोज्नेहरूलाई।।

म जहाँ रहन्छु ,
फुलाइरहन्छु मनमा लालीगुराँस
देखिरहन्छु सर्वत्र समानता
ओढिरहन्छु सगरमाथाको पखेटा
हिँडिरहन्छु दशगजाको वारपार
र सजाइरहन्छु सर्वदा
मस्तिष्कमा भूगोललाई।।

आमा,
म सारा बिर्सन्छु
तिम्रो सम्झनामा।।

Tags :
प्रतिक्रिया दिनुहोस