व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध


६ असार २०७८, आइतबार


दार्चुला । ‘म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा सुनिएको आवाज हो यो ।’ त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत लेखापाल भरतनाथ योगीको थियो ।

पाँच दिनअघि व्यासको छाङग्रुमा निर्माण हुने नेपाल प्रहरीको भवन तथा तिङ्कर प्रहरी चौकीलगायतको निरीक्षण अवलोकन गर्न उनी छाङ्ग्रु पुगेका थिए । उनको छाङ्ग्रु पुगेदेखि कोहीसँग फोन सम्पर्क हुन सकेन। छाङ्ग्रुमा सशस्त्र प्रहरीसँग मात्रै ल्याण्डलाइन फोन सेवा छ । छाङ्ग्रुमा रहेको स्काई फोन सेवा गत मङ्सिरदेखि अवरुद्ध छ ।

हिमपातले व्यासको स्काई फोन टावरको अधिकांश सामग्रीमा क्षति पुर्याएको छ । फोन बिग्रिएको सात महिनाभन्दा बढी भयो । नमस्ते टावर आधा बनेको छ। छाङ्ग्रुमा रहेका स्थानीयवासी र सशस्त्र प्रहरीको समय बिताउने कहिलेकाहीँ भायनेटले काम गर्छ । त्यो पनि दुई दिनसम्म बिग्रिएपछि समस्या भएको हो ।

योगीले भने, ‘न फोन छ, न इन्टरनेट चल्यो, कुन ठाउँ पुगेजस्तो भयो । बस्नै गाह्रो भयो, निरन्तर वर्षा भइरहेको छ । यो बेला बेकारमा छाङ्ग्रु पुगेजस्तो भयो ।’ उनी मात्र होइन, तिङ्करका नागरिकले गत वैशाखमा कुञ्चा सरेयता फोन सम्पर्क गर्न पाएका छैनन् । छाङ्ग्रुमा कहिलेकाहीँ भायनेटले काम गरे पनि तिङ्कर पूरै सञ्चारविच्छेद छ । तिङ्कर र छाङ्ग्रुमा स्काई टावर बने पनि फोन लाग्दैन । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको वडा नं १ छाङ्ग्रु र तिङ्करमा फोन प्रभावकारी नहुँदा स्थानीयवासीले मात्र नभई सुरक्षाकर्मीलेसमेत सास्ती खेप्नुपरेको छ ।

निरन्तर भइरहेको वर्षाका कारण सशस्त्र प्रहरीसँग रहेको दुईवटा ल्याण्डलाइनमासमेत समस्या आउने गरेको छ । ‘घाम नलागे फोनले काम गर्दैन’, एक सशस्त्र प्रहरीले भने, ‘चार्ज गर्न विद्युत् छैन । घाम नलागेका कारण सोलार सिस्टमले काम गरेको छैन । भायनेट दुई दिनसम्म नचलेर निकै सकस भयो ।’ यस ठाउँमा अझै फोन सेवा सञ्चालन अनिश्चित छ । ‘नेपाल टेलिकमको स्काई टावर सञ्चालन गर्नका लागि प्राविधिकहरुको टोली तयारी अवस्थामा छन् तर जानलाई बाटोघाटो छैन’, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने ।

नेपाल–भारत दुवै ठाउँपट्टि बाटो अवरुद्ध छ । भारतीय बाटो भएर जानलाई पाससमेत बनाइएको छ । त्यहाँ पनि गर्वाधार क्षेत्रमा गत मङ्गलबार गएको पहिराका कारण सडक अवरुद्ध छ । नेपालतिर जान सम्भव छैन । कल्जुभन्दा माथिल्लो क्षेत्र पूरै अवरुद्ध छ । चार दिनभन्दा बढी पैदल हिँडेर बर्खाको समयमा जान सकिने अवस्था नरहेको उनको भनाइ छ ।

टेलिकमको टावरमा उपकरण राखेको भवन पूरै क्षतिग्रस्त छ । के–के उपकरण क्षति भयो यकिन छैन । हिमपातले टेलिकमको भवनको छत उडाएपछि भवनभित्र रहेको टेलिकमको बिटिएस, रेडियो सिस्टमलगायतमा क्षति भएको अनुमान गरिएको छ । ‘इन्टरनेटको पहुँच भएकाहरुलाई बाहिर सम्पर्क गर्न मिलेको छ’, व्यासका स्थानीयवासी योगेश बोहराले भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्न नजानेकाहरु गाउँ आएदेखि सम्पर्कविहीन छन् ।’ तिङ्करमा छाङ्ग्रुको स्काई फोनले समेत काम गर्दैन । यहाँ गएका स्थानीयवासीलाई कुनै समस्या भइहाले पनि आफन्तसँग सम्पर्क गराउन हम्मेहम्मे हुने गरेको छ ।

छाङ्ग्रुमै नमस्ते फोनको टावर जडान गरिएको छ तर नमस्ते फोन सेवा सञ्चालनका लागि सुन्सेराको कैचुलामा रिपिटर टावर राख्नुपर्ने हुन्छ । कैचुलामा रिपिटर टावरका लागि भवन निर्माण गरिएको छ । यो क्षेत्रमा टावरको बाँकी काम जडान हुन नसकेको टेलिकम दार्चुलाले जनाएको छ । छाङ्ग्रुमा बन्न लागेको नमस्ते फोनको टावरमा फोरजी सेवासहित सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस