प्रदेश २ को बजेट अधिवेशनको पहिलो बैठक आज बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश २ को बजेट अधिवेशनको पहिलो बैठक आज बस्दै


प्रशासन संवाददाता

२४ जेष्ठ २०७८, सोमबार


धनुषा । प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डा.राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८/०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।

प्रदेश प्रमुख डा.अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस