कोरोना नियन्त्रणको सूत्र – सुशासन र स्वः अनुशासन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना नियन्त्रणको सूत्र – सुशासन र स्वः अनुशासन


१८ जेष्ठ २०७८, मंगलबार


कोभिड—१९को पहिलो चरणको सङ्क्रमणबाट तङ्ग्रिन नपाउँदै दोस्रो चरणको महाव्याधिको सामना गर्न विवश पारेको छ। डबल म्यूटेन्ट र रूपान्तरित कोरोनाको सङ्क्रमण दर र गति उच्च भएको विज्ञहरूले दाबी गरेका छन्। नयाँ भेरियन्ट कोभिडले कैयौँको ज्यान गइसकेको छ। यस भाइरसको सङ्क्रमण दर उच्च बिन्दुमा असार तीर मात्र पुग्ने सरकारी आङ्कलन छ। अझ जोखिम बढ्ने कारणले सर्वत्र त्रास छाएको छ। यस महामारीसँगको सामना गर्न सरकार र सरोकार पक्षले बेलैमा आक्रमण रणनीति अवलम्बन गर्नुको विकल्प छैन। शहरमात्र नभएर समुदाय र गाउँ गाउँसम्म पनि कोरोना छ्यापछ्याप्ती फैलिइसकेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको छ। यसमहाव्याधीलाई ख्याल ख्याल सम्झिँदा अझ धेरै जनधनको क्षति बेहोर्नुपर्ने नहोला भन्न सकिन्न । अहिलेसम्मको अध्ययन र अनुभवले सुशासन र स्वःअनुशासनको अवलम्बनले मात्र कोरोना नियन्त्रण संभवहुने पुष्टि भएको छ।

सरकार सुशासन कायम गर्न चुकेको कारण कोरोना सङ्क्रमणको तीव्रता बढेको आम नागरिकको गुनासो छ। राज्यले कोरोना नियन्त्रणका लागि चालेका कदम फितलो साबित हुँदै गएका छन्। औषधिलगायतका मेडिकल सामग्रीहरूको महँगी, अभाव, कालोबजारी र कमशिनखोरीको जगजगीले सुशासनको खिल्ली उडाएको छ।

सरकारको बोली र व्यवहारमा तादम्यता कमै पाइन्छ। तीनै तहका सरकार बीच सहयोग समन्वय आसालाग्दो छैन। सरकारी आदेश र निर्देशन मात्र नभएर एक्सनले मात्र कोरोना नियन्त्रण गर्न सकिन्छ। सुशासनका लागि न्यूनतम आधारभूत सर्तहरू पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, उत्तरदायित्व र जवाफदेहिता, निष्पक्षता, समावेशिता, विकेन्द्रियतालगायत आवश्यक स्रोतसाधानको न्यायोचित वितरण आदिको पर्याप्त पालना भएको पाइदैन्। बिरामीको चाप चौतर्फी दिनप्रतिदिन बढ्दो छ। आवश्यक स्रोतसाधानको सीमितताको कारण अस्पतालहरू अस्तव्यस्त बन्न पुगेका छन्। बिरामीले अस्पतालमा बेड पाउन उपचाररत बिरामीको मृत्यु वा निको हुनुपर्दछ। एम्बुलेन्समै अक्सिजन दिएर उपचार भइराखेका दृश्य देखिने क्रम बढ्दो छ।

हाम्रोमा स्वास्थ्य समस्यासँग जुध्ने दूरदर्शी र दिगो व्यवस्थापनको खाँचो टड्कारो देखिएको छ। अघिल्लो कोरोना कहरको व्यवस्थापनका लागि बनाइएका भौतिक संरचनालगायत व्यवस्थापनहरू बेवारिसे बनेका कारण अहिले पुनः नयाँ व्यवस्थापन गर्नुपरेको जगजाहेर नै छ। अर्कोतर्फ कोरोना भ्याक्सिन आयातमा भ्रष्टाचारको कारणबाट समयमा खोप नआएको भन्ने समाचारले जनमानसमा आक्रोश र निराशा छाएको छ। महामारीले सर्वत्र हाहाकार मच्चाएको बेलामा सरकार ढाल्ने र जोगाउने खेलमा राजनीतिक दलहरू तल्लीन रहनु विडम्बना हो। जनताको जीवनको मूल्यलाई नजरअन्दाज गर्दै सत्ताधारी र विपक्ष दलहरूले कुर्सी राजनीतिमा आफ्नो दिलोज्यान लगाउनु उदेक लाग्दो अवस्था हो।

कोरोना सङ्क्रमणलाई निस्तेज पार्दै निर्मूल गर्न बेलैमा सरकारलगायत सबै नलागे अझ धेरै धनजनको क्षति बेहोर्नुपर्ने निश्चित छ। निकट भविष्यमा नै कोरोनाको तेश्रोलहर पनि आउने विज्ञहरूको भविष्यवाणीले आम जनसमुदायमा झन् त्रासको वातावरण छाएको छ। सङ्क्रमणको तीव्रताको कारण र रोकथामका उपाय बारे गहन अध्ययनको आधारमा नियन्त्रणको रणनीति अवलम्बन गरिनु दूरदर्शिता ठहर्छ। घरमा आगो लागेपछि मात्र कुवा खन्ने हाम्रो बानीलाई त्यागेर भविष्य दर्शी नीति र रणनीति नबनाएसम्म यस्ता साना ठुला क्षतिहरू बेहोर्नु हाम्रो नियति नै बन्ने छ।

कोरोनाको दोस्रो लहरले भारतलाई नराम्ररी गाँजेको छ। अक्सिजन तथा औषधीको मात्रै नभएर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीकोसमेत अभावले कैयौँले समयमा नै उपचार नपाएर ज्यान गुमाएको समाचारहरू सार्वजनिक भएका छन्। अझ भारतको ग्रामीण इलाकामा त स्वास्थ्य संस्थाको अभावमा रुखको छहारीमा सामान्य बेडमा बिरामी राखेर उपचार गराइराखेको टीठलाग्दा दृश्यहरू टेलिभिजनमा प्रसारित भएका छन्। अर्कोतर्फ यस महामारीलाई कमाऊ धन्दाकोरूपमा अक्सिजन तथा रेम्डिसिभिरलगायतका महत्त्वपूर्ण औषधीको कालोबजारी गर्ने व्यपारीहरुको जगजगी त्यतिकै छ। नेपालमा समेत नक्कली रेम्डिसिभिर बेच्ने व्यापारी विराटनगरमा पक्राउ परेका छन्।

भारतमा अनियन्त्रितरुपमा सल्केको कोरोना दोश्रोलहरको खुला सिमाना र अनियन्त्रित आवागमनको कारण नेपालमा पनि तीव्र रूपमा सङ्क्रमण फैलिनु अन्यथा होइन। भारतमा कोरोनाको डरले स्वदेश फर्किने नेपालीहरूको लर्कोले अहिले कमजोर स्वास्थ्य संरचना र पहुँचका कारण गाउँ गाउँ सम्म कोरोना सङ्क्रमण बढ्दो रूपमा छ। आवश्यक उपकरण र औषधीसहित पर्याप्त जनशक्तिको अभावमा कोरोनाको स्थिति अझ भयावह बन्ने प्राय निश्चित छ।

भारतबाट कोरोना खोप ल्याउने क्रममा कमिसनको चक्करले ढिला भएको समाचारले जनमानसलाई आक्रोशित बनाएको छ। अर्कोतर्फ कतिपय निजी अस्पतालले अस्वाभाविक अधिक शुल्क कोभिडका बिरामीसँग असुल्ने गरेको गुनासोप्रति सरकारले नतिजामुखी कारबाही गर्न विलम्ब गर्नु दुखद हो। जनताको जीवनसँग खेलबाड गर्ने जोकोहीलाई पनि सत्य तथ्यको आधारमा निर्मम कारबाही गरेर सुशासनको प्रत्याभूति दिन सरकार चुक्नु हुन्न।

कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीबेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो। रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक शोच पनि प्रभावकारी हुने विज्ञहरूको दाबी छ। कोरोना महाव्याधि उपचारको लागि विकास गरिएको खोप सबै नागरिकलाई उपलब्ध भएको छैन। खोपको प्रभावकारिता माथि नै शङ्का उब्जिएकोले उपचार भन्दा पनि रोकथामका उपायहरू नै कोरोना बाट बच्ने उत्तम उपाय ठहरेको छ। सुरुमा चमेरो बाट मानवमा सरेको कोरोना भाइरस अहिले मानव बीचको संसर्ग बाट सर्दै छ। मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरू हुन सक्छन्। अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ। त्यस्तै कोरोना सङ्क्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ्ग र ट्रिटमेन्टलाई अभियानकोरूपमा सञ्चालन गर्नुपर्ने खाँचो भएको छ। कतिपय व्यक्तिहरू स्वास्थ्यसम्बन्धी मापदण्डको बेवास्ता गर्दै अनावश्यकरुपमा घरबाहिर निस्करे रोग सल्किने जोखिमलाई निम्त्याएका घटना सार्वजनिक हुने गरेका छन्।

कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि यदाकदा आक्रमणका निन्दनीय घट्नाहरु पनि भएका छन्। सङ्क्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मी रुपी देवदूतलाई हातपात, दुर्व्यवहार गरेका समाचार सार्वजनिक हुनु तथा सरकार र सरोकार निकाय टुलु टुलु हेरेर बस्नु दुखद हो। अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवश पनि यस्ता अप्रिय घट्नाहरु हुने गरेका छन्। यस्ता अमानवीय घटनाप्रति जिम्मेवार जो कोहीलाई पनि निर्मम कारबाही गरी अग्रपङ्तिमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिचकिचाउनु गम्भीर भुल हुन जान्छ। अहिले दोस्रो लहरको कोरोना तीव्र र घातकरुपा फैलिइरहेको अवस्था स्वास्थ्यकर्मीलगायत अग्रपङ्तिमा खटिएकाहरूका लागि सरकारले दिल खोलेर सबैखाले सेवा सुविधा प्रदान गरिनु पर्दछ।

स्वास्थ्यकर्मीप्रति अमानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुन सक्छन्। कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्त्व थाहा नपाएर वा अरूको लहैलहैमा लागेर, जे गरेपनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीहरू मार्फत कोरोना सङ्क्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झुन्डहरूले वितण्डा मच्चाउने उच्छृङ्खल तत्त्वहरूको सक्रियतामा यस्ता असामाजिक दूर्व्यवहारहरु हुने गर्छन्। यस्ता नकारात्मक प्रवृत्तिहरुलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्यक्रम तथा सख्त कानुनी कारबाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्ब गरिनु हुन्न। स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिदा आउने भयावह स्थितिको आङ्कलन गरेर बेलैमा कडा कारबाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ।

स्वास्थ्यकर्मीहरू आफ्नो रोजीरोटीको लागि मात्रै नभएर मानव सेवा जस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन्। उनीहरूको हौसला र मनोबल बढाउन सर्वसाधारणदेखि सरकार सम्मले मुक्त कण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु हामी सबैको कर्म र धर्म हो।

Tags :
प्रतिक्रिया दिनुहोस