कक्षा १२ र एसईईको परीक्षा स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कक्षा १२ र एसईईको परीक्षा स्थगित


२७ बैशाख २०७८, सोमबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईईको परीक्षा स्थगित गरेको छ । आज बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको स्रोतले जनाएको छ ।

जेठ १३ गते देखि परीक्षा मिति तोकिएको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा जुटेका छन् । एसईईका लागि प्रश्नपत्र छपाइको काम पनि सकिएको छ । कोरोना महामारीको अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निष्कर्ष निकालिएको बोर्डका सदस्यहरूले बताए ।

यस्तै जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा आउन एक महिना बाँकी भए पनि महामारीले पठनपाठन बन्द छ । कक्षा १२ को परीक्षा दिने करिब ४ लाख परीक्षार्थी तयारीमा छन् ।

बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनका लागि अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । महामारीको अवस्था कायमै रहे भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने मोडालिटी तय गर्न कार्यदल बनाइएको बोर्डले जनाएको छ ।

यस वर्ष कक्षा १२ को हकमा भने इन्टरनेट सुविधा भएका परीक्षा केन्द्रमा प्रश्न पत्र पठाएर परीक्षा लिने तयारी बोर्डको छ । अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । कोरोना महामारीका कारण गत वर्ष पनि अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

गत वर्ष एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस