तीन शताब्दी पुरानो ऐतिहासिक कोतको पुनःनिर्माण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन शताब्दी पुरानो ऐतिहासिक कोतको पुनःनिर्माण


९ बैशाख २०७८, बिहिबार


गलेश्वर । तीन शताब्दी पुरानो इतिहासको साक्षी बनेको म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको सिद्धिदात्री भगवती कोत मन्दिरको पुनःनिर्माण गरिएको छ । तत्कालीन पर्वत राज्यअन्तर्गतको ऐतिहासिक डढेकोट दरबारसँग सम्बन्ध राख्ने कोत मन्दिरको पुनःनिर्माण पछि रामनवमी पर्वको अवसर पारेर उद्घाटन गरिएको हो । तत्कालीन पर्वते राजा डिम्वबम मल्लले शक्तिस्वरूपा देवीको पूजाआजा गर्ने र हातहतिहार भण्डारण गर्ने ठाउँलाई पुनःनिर्माण गरी चिटिक्क बनाएर सिद्धिदात्री भगवती कोत मन्दिर नामकरण गरिएको हो ।

यस कोतको इतिहास राजा डिम्वबम मल्लको विरासतसँग जोडिएको छ । डिम्वबम मल्लले डढेकोट दरबार नजिकै कोतघर बनाएर नित्य पूजाआजा गर्नुका साथै हातहतियार भण्डारण गर्ने तत्कालीन कोत डढेकोट दरबारमा आगलागी हुँदा डढेर नष्ट भएको थियो । नेपालको संक्षिप्त इतिहास नामक पुस्तकमा उल्लेख भएअनुसार ढोलठान तत्कालीन पर्वत राज्यअन्तर्गतको सबैभन्दा शक्तिशाली राज्य थियो ।

यहाँका राजा डिम्वबम मल्लले ढोलठानलाई ग्रीष्मकालीन र बेनीलाई शीतकालीन राजधानी बनाएका थिए । गर्मीमा ढोलठान र जाडोमा बेनीको दरबारमा बसेर राज्य सञ्चालन गर्ने गरेका प्रशस्तै प्रमाण भेटिएका इतिहासकार चन्द्र बानियाँले बताए । उनका अनुसार यस क्षेत्रमा प्रचलित ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ लोकगीतले पनि राजाडिम्वबम कहिले बेनी र कहिले ढोलठानलाई राजधानी बनाउँथे भन्ने कुराको पुष्टि गर्दछ ।

विसं १८४२ मा दोस्रो पटक बहादुर शाहले गोरखा र पाल्पाको संयुक्त फौज पठाई पर्वते सेनालाई पराजित गरेपछि पर्वत राज्यलाई विशाल नेपालमा गाभ्न सफल भए । यस्तो दर्बिलो र गर्विलो इतिहास रहेको ऐतिहासिक विरासतको स्थल डढेकोट दरबार अहिले भने अलपत्र अवस्थामा रहेको स्थानीय वुद्धिजीवी नीलकण्ठ शर्माले जानकारी दिए । राजा डिम्वबम मल्लले पुरातात्विक शैलीमा निर्माण गरेको दरबारमा आगलागी भएपछि उनले ढोलठानमा पुनः अर्को दरबार बनाएर तल सरेका र आगो लागेर डढेकोले पुरानो दरबार रहेको ठाउँलाई डढेकोट दरबार भनिएको स्थानीय शिक्षक एवं बुद्धिजीवी शिव बानियाँले बताए ।

डढेकोट दरबार रहेको ठाउँका ढुङ्गा र पर्खाल अहिले अलपत्र अवस्थामा रहेका छन् । दरबार नजिकै रहेको कोत भने स्थानीयवासीले सुरक्षित राखेका छन् । त्यो कोतमा विभिन्न आकृतिका ढुङ्गाका मूर्ति, त्रिशूललगायतका पुरातात्विक सामग्री अहिलेसम्म पनि सुरक्षित छन् । आगलागी भएपछि सो कोत कसले कहिले पुनःनिर्माण गरेको हो भन्ने कुरा खुल्न सकेको छैन तर त्यहाँका स्थानीयवासीले यस्तो ऐतिहासिक कोतको संरक्षण गर्नुपर्छ भन्ने मनसायले २०२४ साल असोज १८ गते सोही स्थानमा कोत मन्दिर स्थापना गरी पूजाआजाको थालनी गरेको मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताए । त्यसपछि सो मन्दिर जीर्ण भएकाले २०७६ साल चैत २६ गते शिलान्यास गरी अहिलेको भव्य मन्दिरको पुनःनिर्माण शुरु गरिएको थियो । यो मन्दिरमा ५० वर्ष पुरानो दुर्गा भगवतीको मूर्ति राखिएको छ भने शिरमा ढुङ्गाको गजुर हालिएको छ ।

डढेकोट राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशसभा सदस्य विनोद केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य केसीले पुलाचौर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले धार्मिक क्षेत्रको विकासमा भविष्यमा थप सहयोग जुटाउने प्रतिबद्धता जनाए । त्यस्तै बेनी नगरका प्रमुख श्रेष्ठले नगरभित्र रहेका सयौँ वर्ष पुराना धार्मिकस्थलको मर्मत तथा जीर्णोद्धारका लागि नगरपालिकाले सहयोग गरिरहेको बताए ।

मन्दिरको उद्घाटन कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका सचिव एवं मन्दिरका सल्लाहकार माधवप्रसाद रेग्मी एवं कार्यवाहक वडाध्यक्ष रामप्रसाद सुवेदीले मन्तव्य राखेका थिए। सोही अवसरमा पण्डित टीकानान्द सुवेदीले भगवती महिमाका बारेमा प्रवचन दिएका थिए । पुरानो तथा ऐतिहासिक महत्व बोकेको कोत जीर्ण अवस्थामा पुगेपछि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयवासीको आर्थिक सहयोगसहित कूल रु ४३ लाखको लागतमा पुनःनिर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस