न्यायिक समितिबाट ६७ मुद्दा फैसला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्यायिक समितिबाट ६७ मुद्दा फैसला


७ बैशाख २०७८, मंगलबार


वाग्मती । हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७ फैसला भएको छ । ती मुद्दा मिलापत्र मार्फत टुङ्ग्याइएको हो । समितिमा विभिन्न किसिमका १३८ मुद्दा परेको बताइएको छ ।

अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका १८ गरी सो समितिमा १५६ मुद्दा दर्ता भएका थिए । तीमध्ये ६७ मुद्दा फैसला भइसकेको सो उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले जानकारी दिइन् ।

फैसला हुन बाँकी मुद्दामध्ये एउटा मुद्दा समितिले सम्बन्धित स्थानीय तहमा पठाएको छ भने तीन मुद्दाको सुनवाइका लागि जिल्ला अदालतमा पठाइएको न्यायिक समितिका कर्मचारी डिल्लीराम पोखरेलले जानकारी दिए । समितिमा दर्ता भएकामध्ये दुई मुद्दा फिर्ता लिइएको छ भने १५ मुद्दामा मेलमिलाप हुन नसकेको र ६५ मुद्दा प्रक्रियामा रहेको छ ।

उनका अनुसार समितिमा दर्ता भएका मध्ये सबैभन्दा बढी मुद्दा जग्गाको साँध सीमाना सम्बन्धि छ । त्यस्तै बाटो , पारिवारिक र ज्यालासम्बन्धि विवाद छ । उपमहानगरपालिका–३, १७, १८ र १९ बाट समितिमा बढी मुद्दा दर्ता भएको छ।

समितिले अर्काको बालीनोक्सान गरेको, चरण, धाँस–दाउरा, ज्याला– मञ्जदुरी नदिएको, नावालक छोराछोरी वा पतिपत्नीलाई खानलाउन र शिक्षा नदिएको तथा पतिपत्नीबीचको सम्बन्धविच्छेद, गाली वेइज्जती र कुटपिटलगायतका समस्याको फैसला गरेको छ ।

उपमहानगरपालिकाबाट न्यायिक समिति कार्यविधि ऐन, २०७४ पारित भएपश्चात् २०७४ फागुन ८ गतेदेखि नगरउपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको थियो । उपप्रमुख लामाले स्थानीय समस्या समाधानमा समितिले सहजीकरण गरिरहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस