ट्रष्टले खाली गरायो काठमाडौँ प्लाजा, अटेरी गर्नेको पसलमा सिल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्रष्टले खाली गरायो काठमाडौँ प्लाजा, अटेरी गर्नेको पसलमा सिल


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौँ प्लाजा खाली गराएको छ ।

चैत ३१ गतेसम्म भवन खाली गराउन व्यवसायीलाई निर्देशन दिएको ट्रष्टले बिहीबार भवन खाली गराइएको ट्रष्टका सहसचिव डा।भीष्मकुमार भूसालले जानकारी दिएका छन् ।

अन्तिम पटक भन्दै हिजै मात्र घर खाली गर्न माइकिङ गरिएको थियो । त्यससँगै केही व्यवसायीले सामान सार्दै गरेकोले उनीहरूलाई शनिवारसम्म समय दिइएको छ भने सामान सार्न अटेरी गर्ने २ वटा पसलमा सिल गरिएको डा। भूसालले जनाएका छन् ।

कन्सेप्ट डेभलपर्स प्रा.लि.सँगको पुरानो सम्झौता अनुसार २०७७ असार ३ मा नै यो भवन खाली भइसक्नुपर्ने भए पनि व्यवसायीहरूको अटेरीका कारण काठमाडौँ महानगरपालिकालाई भाडामा दिने सरकारको निर्णय कार्यान्वयनमा समेत ढिलाइ भएको थियो ।

२०५० असार ३ गते तत्कालीन राजकीय सम्पत्ति कोष विभागका सह-सचिव शंकरराज विष्ट र सुवासराज काफ्लेबिच पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।

काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रा.लि.मा हस्तान्तरण भएपछि २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम पुरानो करारनामाको अधीनमा रही पुनः करारनामा गरिएको थियो । पूर्व राजपरिवारको सो जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको थियो ।

२०६६ पुस २३ गते नेपाल ट्रष्टको कार्यालयका तर्फबाट तत्कालीन उपसचिव टिकाराम घिमिरे र कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट प्रबन्ध सञ्चालक सुनिलभक्त श्रेष्ठबिच २०७७ असार २ सम्मका लागि सम्झौता भएको थियो । चल्तीको भन्दा निकै कम मूल्य कबोल गर्दै कन्सेप्ट डेभलपर्सले पुनः सम्झौताको प्रस्ताव गरेकोमा नेपाल ट्रष्टले सम्झौता नगर्ने निर्णय गर्‍यो ।

ट्रष्टले काठमाडौँ महानगरलाई मासिक ६० लाख भाडामा दिने गरी निर्णय गराई सकेको छ ।

महानगरलाई भाडामा दिने निर्णयविरुद्ध सुवासराज काफ्ले अदालत गएसँगै तत्काल सम्झौता नगर्न अन्तरिम आदेश भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस