२१ दिनभित्र हाजिर हुन विप्लवका दाइ बिरजंगलाई अदालतको पत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२१ दिनभित्र हाजिर हुन विप्लवका दाइ बिरजंगलाई अदालतको पत्र


३० चैत्र २०७७, सोमबार


रुपन्देही । जिल्ला अदालतले रुपन्देहीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बीरजंगलाई २१ दिनभित्र अदालतमा हाजिर हुन गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।

फागुन २१ गते सरकारसँगको तीन बुँदे सहमति पछि आफ्ना कार्यकर्ता रिहाइ हुने आशा गरेका विप्लव समूहलाई अदालतको यो सूचनाले झस्काएको छ । सरकारले नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउँदै उसका नेता कार्यकर्ताको रिहाइ र उनीहरूमाथि लागेका सबै मुद्दा खारेज गर्ने सहमति जनाएको थियो ।

जारी सूचनामा बीरजंगलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन २१ दिने सूचना सार्वजनिक गरेको छ । तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानुन बमोजिम मुद्दा फैसला हुने जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढी घर भनिए पनि उक्त ठेगानामा उनी फेला नपरेपछि गोरखापत्रमा सूचना प्रकाशन गरिएको हो । उनी अहिले चितवन कारागारमा रहेका छन् । उनी विरुद्ध विभिन्न ११ वटा जिल्लामा मुद्दा रहेका छन् । बीरजंग महासचिव नेत्रविक्रम चन्द विप्लवका सहोदर दाइ हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस