सांसद पद गुमाएका ४ मन्त्रीको पुनर्नियुक्ति, आज ५ बजे शपथ लिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद पद गुमाएका ४ मन्त्रीको पुनर्नियुक्ति, आज ५ बजे शपथ लिँदै


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


काठमाडौं । सांसद पद गुमाएका चार नेताले आज फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

उनीहरुको शपथ कार्यक्रम आज साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसदबाट पनि पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने, सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्रीहरूको सपथका लागि तयारी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस