थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु


१८ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सरकारले थप ५० लाख डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा आज (मंगलबार) कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्न प्रक्रिया सुरु गरेको बताएका हुन् । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी एक करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले आगामी दिनमा खोप अभियान ज्येष्ठ नागरिकबाट सुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ । तीन लाख डोज खोप यही साताभित्र आउने र थप १० लाख डोज खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटि करोडको संख्यामा खोप आए राख्ने ठाउँ नहुन सक्ने पनि उनले बताए ।

हालससम्म नेपालले जिटुजी मार्फत नै २० लाख डोज खोप खरिद गरेको छ । जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ ।

भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस