‘दलहरुबीच समझदारी हुन्छ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘दलहरुबीच समझदारी हुन्छ’


१५ फाल्गुन २०७७, शनिबार


चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उनले संसद् नियमित चल्ने बताए ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।’ राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो । उनले भने, ‘मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।’ संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस