जूनको स्पर्श « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जूनको स्पर्श


१५ फाल्गुन २०७७, शनिबार


जोसिलो चेहरामा एउटा तन्नेरी
पल्याकपुलुक आँखा पार्दै
चलायमान देखिन्छ।
लाग्छ ऊ कसैलाई कुरिरहेछ
प्रफुल्ल मन र उमङ्गलाई सारथी बनाइरहेछ।
रातभर पूर्णिमाको जूनले ढाकेको आकाश
स्नेहिल बनिरहेछ।

शीतको थोपाले निथ्रुक्क भिजेको कोपिला
फक्रिने तरखर गर्दैछ
घामका सुनौला किरण धर्तीतिर सोझिँदै गर्दा
एउटा मुहार धपक्क बलिरहेछ
जहाँ पूर्णिमाको जून झैँ सुन्दरताको
शालीनता मुस्कुराइरहेछ।

फक्रेको जून समाउने चेष्टा गर्दैछ तन्नेरी
पल्याकपुलुक आँखाहरू एकटकमा घोरिएका छन्
सायद उसका परेली झिम्कन मानिरहेका छैनन् ।
हो ऊ खुसी देखिन्छ,
अनि फुर्तिलो स्वरले जूनको नाम जप्दै जून टिप्न खोज्दैछ
उसको लम्किएको हातले जून भेटेको छैन
लाग्छ जून सिवाय केही देखेको छैन
जति पर सर्छ जून अझै सर्दैछ
जति टाढा जून हुन्छ जूनको सुन्दरता अझै बढ्दैछ।
सुन्दरतामा लुट्पुटिदै जूनको यौवन पोखिदिने
बिचरा बबुरोको ईप्सा अतृप्त नै रहदैछ।

सायद उसले बुझेको छैन कि
जून हेर्नकालागि हो छुनलाई होइन
नयन देख्नका लागि हो रुनलाई होइन
प्राप्ति अठोट हो सङ्घर्ष होइन
माया अनुभूति हो स्पर्श होइन।

 

Tags :
प्रतिक्रिया दिनुहोस