पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भिर


प्रशासन संवाददाता

१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ। मस्तिष्कघात भएपछि उपचारमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।

जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको चिकित्सकले बताएका छन् । नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार दिउँसो जानकारी दिँदै उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने थोरै भए पनि आफूहरूले आशा गरेको बताए ।

मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए । अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटीस्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।

उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झा भन्छन्, ‘उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’ सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा. झा भन्छन्, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’

सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले जानकारी दिएका छन् । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।

डा. झा भन्छन्, ‘अहिलेसम्म १२०–१३० मिलिलिटर पानी निकालेका छौं । उहाँलाई भेन्टिलेटरमा राखेका छौं ।’ यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०–७० प्रतिशतलाई बचाउन नसक्ने उनले सुनाए । डा. झा भन्छन्, ‘उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।’ उनका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस