पार्टी सचिवालय बैठक बोलाऊ : बामदेव गौतम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पार्टी सचिवालय बैठक बोलाऊ : बामदेव गौतम


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’ गौतमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।
उनले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई ऐतिहासिक भनेका छन् ।

उनले संसद विघटन बदर भएको दिनलाई निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय भएको र संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस