भारतबाट खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड खोप नेपाल आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतबाट खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड खोप नेपाल आइपुग्यो


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो । खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतले दाबी गरेको छ ।

खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ‘कोल्डरुम’मा लगिने छ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस