एउटा बुढोको चिट्ठी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एउटा बुढोको चिट्ठी


८ फाल्गुन २०७७, शनिबार


छोरा !
तिम्रो चिठी पाएँ
हाकिम भएछौ ।

आज लागेको छ-
म असार-साउन जोतेर
मेलो मेटेको गोरू हुँ,
अब सन्तोषले
एक मुठो पराल चपाउन पाउँछु ।

तर छोरा ! नबिर्स !
तिमी उही बाबुको छोरो हौ
जसको पोलिष्टरको कमिज
खरानीमा पकाए धुँदा
सय नाघेकी हजुरआमाको अनुहार झैं
मुजा परेर नाभि माथि सर्थ्यो
त्यस्तै कमिज लगाउने
थुप्रै बाबुहरू छन् यो देशमा
ती पनि आफ्नो छोरा
हाकिम भएको सपना देख्छन्
अनि कमिज कम्मर सम्म तन्काएर
हातमा थुक लगाउँदै
कोदालाको बिंड समात्छन्
तिमीले साला-सालीलाई जागिर दिनु पहिले

सोंच, तिमीले ती बाबुहरूका
सपनाहरूको हत्या गरेका त छैनौ ?
न झुक्किनू-
तिम्रो घाम सधैं न्यानो हुनेछैन,
जब एक दिन ऊ पनि तिम्रा लागि चिसो हुनेछ
लकरमा थुपारिएका सुन र नोटका बिटा त के
तिम्रो छायाँले पनि साथ दिने छैन,
न बिर्सनू-
सिंगमरमरको चिहानमा सुत्नेहरू पनि
फर्केका छैनन् -छुटेको हिराको अँगुठी लिन ।

आफ्ना चिल्ला गाला सुम्सुम्याउँदै
सडकमा हुँइकिरहेको बेला
बाटो काट्न नजानेको
पत्तिको अभावमा झुस्स दाह्री पालेको
पैतालामा धाँजा फाटेको बूढोलाई
दुर्वचन बोल्नु भन्दा पहिले
एक पटक सोच
कतै तिम्रो अन्यायले सडकमा पुगेको
कसैको बाबु नहोस् त्यो ।

मलाइ विश्वास छ-
मेरो छोरा
१० खोका कमिसनले
किनेको मौजाबाट
सरकारी गाडीमा
चामल घर पु-याएर

बोरा ओह्राली घर भित्राइदिने मजदुरसँग
१० रुपियाँको लागि गलफत्ती गर्ने छैन ।

मलाई विश्वास छ,
मेरो छोरो
कान्छी बदिनीको कोठीमा
रात बिताएर
अर्को बिहान
मन्दिरमा दलितको प्रवेश निषेध गर्ने छैन ।

मलाई विश्वास छ
मेरो छोरो
बाल विधवा यौवनाको
चरित्र माथि खेल्न नपाएर
उनलाई बोक्सीको दर्जा दिनेहरूका
शकुनी माखेसाङ्लाहरूमा
अल्झिएर पछारिने छैन ।

मेरो छोरा !
तिमी हजार कोश दूर भए पनि
यी जीर्ण काया थरथराउँदा ओठहरूले
छाती फुलाएर लिन पाउँ तिम्रो नाम
धर्तीलाई अन्तिम पटक आँखाले हेर्दा
देख्न पाउँ केवल
इज्जतको मानसरोवरमा
नुहाउँदै गरेको मेरो छोरो
ऊ नबनोस बरू सबैको शिरको ताज
बरू लपेटियोस सारी बनेर

निर्धाहरूको लाज ढाक्न
धर्तीको अन्तिम शब्द सुन्न पाउँ
मेरो छोरो बोलिरहेको
लाटाहरूको आवाज
बहिराहरूको सरगम
लुलाहरूको पदचाप ।

यो कविता कविको “पहाड उचाल्ने परेलाहरू” कविता संग्रहमा समाविष्ट छ

Tags :
प्रतिक्रिया दिनुहोस