कांग्रेस द्वारा प्रदेश २ प्रमुख बर्खास्त र नियुक्तिको विरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस द्वारा प्रदेश २ प्रमुख बर्खास्त र नियुक्तिको विरोध


७ फाल्गुन २०७७, शुक्रबार


कठमाडौँ । नेपाली कांग्रेसले प्रदेश नम्बर २ को प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको विरोध गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिलेसमेत अत्यन्तै गलत र आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

‘सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ,’ उनले भनेका छन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरेका प्रदेश प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष हटाएका थिए।

काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्तिजस्ता काम गर्न नमिल्ने शर्माको भनाइ छ। ‘यसप्रति कडा विरोध जनाउँदै कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ,’ उनले भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाई हटाएर उक्त पदमा राजेश झालाई नियुक्त गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस