अष्ट्रेलियामा फेसबुकले समाचार कन्टेन्टमा लगायो प्रतिबन्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अष्ट्रेलियामा फेसबुकले समाचार कन्टेन्टमा लगायो प्रतिबन्ध


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । फेसबुकले अष्ट्रेलियामा समाचार कन्टेन्टमाथि प्रतिवन्ध लगाएको छ ।

बुधवारबाटै सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाका मिडियालाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाउन सुरु गरेको हो ।

अष्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र साझा गर्नमा रोक लगाउने घोषणा गरेको बिबिसीले लेखेको छ। केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामाग्री साझा गर्न नमिल्ने बनाइसकिएको बताएका छन्।

प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अष्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्न बाध्य पार्ने छ। अष्ट्रेलियाले पहिलोपटक यस्तो योजना अघि सारेको हो ।

अष्ट्रेलियाले आफ्ना मिडियाहरू समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने बताएको थियो ।

यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो। तर बुधवार भने उसले विश्वकै सबैभन्दा ठुलो समाचार संस्था न्युज कर्पसँग सहमति गरेको घोषणा गरेको छ।

फेसबुकले भने यस किसिमको नियमले प्रकाशक र फेसबुकबीचको आधारभूत बुझाइमा गलत हुनसक्ने बताएको छ । यस्तोमा फेसबुकले अस्ट्रेलियाको स्थानीय समाचारमा रोक लगाउन सक्ने बताएको थियो ।

‘यस (अस्ट्रेलियाको नयाँ नियम)ले हामीलाई एक निकै कठिन विकल्प रोज्नुपर्ने अवस्थामा छाडेको छ । प्रकाशकसँगको आधारभूत सम्बन्धको वास्तविकतालाई बेवास्ता गर्ने कानुन मान्ने वा अष्ट्रेलियामा समाचार कन्टेन्ट रोक्नुपर्ने विकल्प हामीसँग छ ।’ फेसबुकका अष्ट्रेलिया तथा न्युजिल्याण्डको सेवाका प्रमुख विलियम एस्टोनले आफ्नो ब्लगपोस्टमा लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस