बृहद् अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सम्पन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बृहद् अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सम्पन्न


४ फाल्गुन २०७७, मंगलबार


जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय, जनकपुरधामको आयोजनामा र उद्योग वाणिज्य संघ जनकपुरको समन्वयमा बृहद् अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित धनुषा उद्योग वाणिज्य संघको अध्यक्ष एवं पदाधिकारीहरू तथा वस्तुगत संघ सङ्गठनको प्रमुख एवं प्रतिनिधि तथा आम व्यवसायीहरुसँगको बृहद समसामयिक कर र आर्थिक ऐन, २०७७ ले दिएका छुट र सुविधाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला प्रमुख अतिथि र आन्तरिक राजस्व कार्यालय, जनकपुरधामका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवको सभापतित्व रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले वैधानिक व्यवसाय गर्ने वा गर्न खोज्ने सबैको सुरक्षाको प्रबन्ध प्रशासनले गर्ने बताएका थिए । उनले प्रदेश नं. २ को अस्थायी राजधानीको रूपमा रहेको जनकपुरधामलाई औद्योगिक नगरिको रूपमा व्यवसायीले अग्रणी भूमिका खेल्नुपर्ने र त्यसका लागि जिल्ला प्रशासन कार्यालयको सदैव साथ र सहयोग रहने बताए ।

कार्यक्रममा प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले राज्यको कर प्रणाली, नेपालको कर प्रशासन यसको सुधार र यसको पछिल्लो रणनीति, आन्तरिक राजस्व कार्यालयको समग्र स्थिति साथै कर प्रशासन र करदाताहरू बीचको सम्बन्धका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा कर अधिकृत रामकृष्ण गुप्ता उद्देश्य माथिको प्रकाश पारेका थिए । कर अधिकृत रमेश ढकालले कार्यक्रमको सञ्चालन र सहजीकरण गरेका थिए । उनले सचेत ‘करदाता नै कर प्रशासनको सम्पत्ति हो’ भन्दै करदाताहरूले आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रही व्यवसाय गर्दा ठुलो आर्थिक जोखिम न्यूनीकरण हुने भन्दै करदाताका अधिकार र कर्तव्यका बारेमा जानकारी गराएका थिए ।

साथै उनले आर्थिक ऐन, २०७७ ले दिएका छुट सुविधाको बारेमा प्रकाश पार्दै विगतमा व्यवसाय गरी विभिन्न कारणले आयकर र मूल्य अभिवृद्धि कर विवरण बुझाउन छुटेका करदाताहरूले यसको उपयोग गरी सरकारले दिएको छुट सुविधाको उपयोग गर्न आव्हान गरेका थिए । यसबाट करदाताहरूलाई ठुलो आर्थिक राहत पुग्ने उनले बताए । यो अवसरलाई उपयोग गर्न नसके करको दायित्वबाट कोही पनि उम्कन नसक्ने ब्यहोरासमेत कार्यक्रममा जानकारी गराइएको थियो ।

उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष ललित कुमार साहले लामो समयको अन्तरालमा कर प्रशासनले जनकपुरमा यस्तो अन्तरक्रिया कार्यक्रम राखेकोमा आभार प्रकट गर्दै कर प्रशासन निजी क्षेत्रमैत्री बन्दै गएको र कर प्रशासनलाई जुनसुकै कुरामा सहयोग गर्न निजी क्षेत्र सदैव प्रयास रहेको बताए । उनले यस आर्थिक ऐन, २०७७ ले दिएका छुट तथा सुविधाको व्यापक रूपमा प्रचार प्रसार गर्दै सरकारले दिएको सुविधालाई अधिकतम रूपमा उपयोग गरिने कुराको सुनिश्चितता गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस