काठमाडौँ । नेपाली सेना र जिल्ला अस्पतालको संयुक्त आयोजनामा नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नागरिक सम्बन्ध अभिवृद्धि गर्ने उदेशयले श्री जबरजंग गणर जिल्ला अस्पताल त्रिशूलीको सहकार्यमा नुवाकोटको किस्पाङ्ग –३ स्थित काउले स्वास्थ्य चौकीमा माघ २७ र २८ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा जिल्ला अस्पताल त्रिशुलीका हाडजोर्नी, प्रसूति तथा स्त्री रोग लगायतका ४ जना विशेषज्ञ डाक्टर तथा नेपाली सेनाका २ जना डाक्टरहरूको संयुक्त सहकार्यमा स्थानीय बासीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त शिविरबाट एक सय ४४ पुरुष, तीन सय २९ जना महिला र २६ जना बालबालिका गरी चार सय ९९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
यस्तै फागुन १ गते श्रीजंग गण र जिल्ला अस्पताल वेशिशहरको सहकार्यमा लमजुङको दोर्दी–८ बन्सारस्थित फलेनी माद्यमिक विद्यालयमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा जिल्ला अस्पताल लमजुङका २ जना डाक्टर र नेपाली सेनाका २ जना डाक्टरसहित १४ जनाको मेडिकल टिमको सहभागीता रहेको थियो ।

एक दिन सञ्चालन गरिएको उक्त शिविरमा जनरल चेकअप, फिजियोथेरापी, आँखा, दात, ल्याव टेष्ट, भ्यासेक्टोमी सेवा प्रदान गरिएको थियो । शिविरमा स्थानीय वासिन्दालाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गरिएको थियो ।
उक्त शिविरबाट चार सय ८६ जना लाभान्वित भएको थिए । कार्यक्रममा नेपाली सेनाले फलेनी माद्यमिक विद्यालयलाई खेलकुद सामाग्री पनि हस्तान्तरण गरेको थियो ।







