निर्वाचन आचारसंहिता सम्बन्धी दलहरुसँग आयोगको छलफल, दाहाल-नेपाल समूह पनि सहभागी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आचारसंहिता सम्बन्धी दलहरुसँग आयोगको छलफल, दाहाल-नेपाल समूह पनि सहभागी


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे आज आइतबार दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरु छलफलमा सहभागी छन्। यस्तै निर्वाचन आयोगका आयुक्तहरु, सचिवहरुसँगै कानुनविदहरु पनि छलफलमा सहभागी छन्।

छलफलमा प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समका प्रतिनिधि पनि सहभागी रहेका छन् । दाहाल-नेपाल समूहको तर्फबाट नेता लीलामणि पोखरेल लगायत छलफलमा सामेल छन् । उक्त समूहले छलफलको सुरुवातमै पार्टीको विवाद निरुपण किन भएन भनेर प्रश्न गरेको छ। ओली समूहका तर्फबाट कानुनविद बाबुराम दाहाल लगायत सामेल छन् ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ। तर प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै नेकपाको दाहाल-नेपाल समुह संसद पुनर्स्थापनाका लागि संघर्षमा छ।

यो पक्षले संविधान मिचेर गरिएको निर्वाचन पनि असंवैधानिक नै हुने बताइरहेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस