प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, ओलीलाई राजालाई जस्तै अधिकार भएको कानुन व्यवसायीको तर्क « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, ओलीलाई राजालाई जस्तै अधिकार भएको कानुन व्यवसायीको तर्क


प्रशासन संवाददाता

२९ माघ २०७७, बिहिबार


काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी बहसमा प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको छ । संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले यसअघि राजालाई रहेको अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको तर्क गरेका छन् । बहसमा उनले यस्तो बताएका हुन् । २००४ सालको वैधानिक कानुनले श्री ३ लाई अधिकार दिएको र त्यसपछिका संविधानले राजालाई अधिकार दिएको तर्क गर्दै उनले अहिले त्यो अधिकार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका हुन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस सकिएपछि अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट सर्वोच्चमा बहस भइरहेको छ ।

माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट शुरु भएको बहस ९ दिनसम्म चल्यो । ९ दिनमा ४९ जना अधिवक्ताले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए । प्रधानमन्त्रीको तर्फबाट बहस सकिएसँगै बिहीबारबाटै सभामुखको तर्फबाट बहस शुरु भएको छ ।

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ताहरू श्रीकृष्ण सुवेदी र श्यामप्रसाद खरेलले बहस गर्न लागेको सर्बोच्च अदालतले जनाएको छ । अधिवक्ता श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस शुरु गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको बहस प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस